बन्दीपुर अस्पतालमा पखाला र ज्वरोका बिरामी बढे
तनहुँ । यहाँको बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेङ्गु र रुघाखोकीलगायतका मौसमी बिरामीको सङ्ख्या वृद्धि हुन थालेको छ। १५ शय्या क्षमताको सो अस्पताल केही दिन देखि बिरामीले भरिभराउ हुन थालेको छ।
हाल अस्पतालमा दैनिक १०० बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल गिरीले जानकारी दिए। उनले भने, ‘यसअघि दिनमा ३५/४० बिरामी आउने गरेका थिए । अस्पतालबाट प्रभावकारी सेवा पाउन थालेपछि बिरामीको चाप बढ्दै गएको छ।’
बिरामीको सङ्ख्या दैनिक बढ्दो देखिएपछि पानीको स्रोतमा ‘कोलिफर्म’ परीक्षण गर्न थालिएको छ। ‘अस्पतालमा चौबिसै घण्टा सेवा दिन आएको छौँ,’ उनले भने, ‘वैशाख १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिइएको छ।’
उपचारमा आउने बिरामीलाई टिकट नि:शुल्क गरिएको छ। बन्दीपुर गाउँपालिकाका साथै छिमेकी पालिका व्यासनगर, आँबुखैरेनी र गोरखा पालुङ्गटारबाट समेत यहाँ बिरामी उपचारका लागि आउने गरेका छन्।
स्वास्थ्य बिमा कार्ड र अस्पतालको टिकट कार्ड देखाएमा बन्दीपुर केबलकारले रु.२०० मा आवतजावत गर्ने सुविधा दिएपछि गोरखा पालुङ्गटारबाट आउने बिरामी सङ्ख्या बढ्न थालेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment