संसद् सचिवालयको सचिवमा दुराको बढुवा

डिसी नेपाल
३१ जेठ २०८२ २१:१३
72
Shares

काठमाडौं। संघीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ। सभामुखको अध्यक्षतामा आज बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो। सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो।

कैलालीको धनगढी उपमहानगरपालिका–१ शान्तिनगरमा जन्मिएका दुरा २०४६ साल फागुन १९ गते निजामती सेवामा प्रवेश गरेका थिए। विसं २०५२ देखि उनले संघीय संसद् सचिवालयमा सेवा गरेका छन्।।

राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका दुराले संसद् सचिवालयमा प्रशासन महाशाखा, संसदीय समितिको सचिवलगायत पदमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका छन्। उनी हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिव छन्।

दुराले आजै सिंहदरबारस्थित कार्यालयमा पदबहाली गरेका छन्। नवनियुक्त सचिव दुरालाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत पदाधिकारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *