हेटौँडा उपमहानगरपालिका-१ का वडा अध्यक्षमाथि कार्यकक्षमै आक्रमण

डिसी नेपाल
४ असार २०८२ २२:३२
108
Shares

मकवानपुर। हेटौँडा उपमहानगरपालिका-१ का अध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेमाथि उनकै कार्यकक्षमा सांघातिक आक्रमण भएको छ।

भूमिसम्बन्धी समस्या देखाउँदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका चार जनाको समूहले अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण गरेको हो। उनीहरूले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोबिल छ्यापी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अपरिचित व्यक्तिको समूहले वडाअध्यक्ष न्यौपानेलाई कालो मोबिल छ्यापेको थियो। वडा कार्यालयमा बसिरहेका अध्यक्ष न्यौपानेलाई नम्बर नखुलेका दुई वटा मोटरसाइकलमा आएका तीन/चार जना व्यक्तिले कुटपिट गरी मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रहरी प्रवक्ता अर्यालका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउको, कपडा तथा शरीरमा मोबिल छ्यापिएको हो। मोबिल छ्यापेर फरार रहेका व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

सुकुम्बासीसम्बन्धी समस्याको व्यवस्थापन गर्ने विषयमा भएको जग्गाको विवादले अध्यक्ष न्यौपानेमाथि मोबिल छ्यापिएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनास्थलमा भूमिहीन सुकुम्बासी लेखिएको खाली रेकर्डफाइल फेलापरेको प्रहरी प्रवक्ता अर्यालले बताए।

घटनामा संलग्नको पहिचानका लागि सिसिटिभी क्यामेराको दृश्य विश्लेषण तथा फरार व्यक्तिको खोजी भइरहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए। आक्रमणबाट अध्यक्ष न्यौपानेको टाउकामा चोट लागेको छ।

घटनापछि हेटौँडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडाअध्यक्ष घटनास्थल पुगेका थिए। वडाअध्यक्ष न्यौपानेमाथि भएको सांघातिक आक्रमणप्रति हेटौँडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

घटनापछि हेटौँडा उपमहानगरले पत्रकार सम्मेलन गर्दै यस्ता आपराधिक गतिविधिको भत्र्सना गरेको छ। उपमहानगरले संघीय, प्रदेश र स्थानीय तहमा रहेको कानुनी संरचनाको परिधिमा रही दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिएको छ।

हेटौँडा उपमहानगरपालिका-१ का वडाअध्यक्ष न्यौपानेमाथि भएको अभद्र व्यवहारप्रति नेपाली कांग्रेस मकवानपुरले आपत्ति जनाएको छ। वडा कार्यालयमै जबर्जस्ती प्रवेश गरी एक समूहले न्यौपानेमाथि दुव्र्यवहार र दुर्व्यवस्थित व्यवहार गरेपछि कांग्रेस मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.