निर्माण पूरा नहुँदै भत्कियो तामाकोशीको पुल

डिसी नेपाल
८ असार २०८२ १३:२४
168
Shares

रामेछाप। रामेछापको मन्थली नगरपालिका-६ को कुनाउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ।

आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पुरै खसेको छ। स्ल्याव यसअघि गत बैशाख २६ गते क्रयाक भएको थियो। त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिहरेको अवस्थामा आइतबार बिहान स्ल्याब पुरै भाँचिएर भुईँमा झरेको स्थानीय पाण्डव प्रसाईँले बताए।

‘पहिले भाँचिएको पुललाई प्राविधिक र निर्माणका कम्पनीको मिलेमतोमा टालटुल पारेर जिम्मामा लगाउने प्रयास भइरहेको थियो, तर अडिएन आज बिहान पुलको बिचको एक कौल स्ल्याब पुरै भाँचिएर झर्‍यो’ उनले भने।

सडक विभागको पुल शाखाबाट आर्थिक वर्ष २०७८-७९ सो पुल ठेक्का लगाइएको थियो। सो पुल ‘डिजाइन एण्ड विल्ड’ मोडलमा निर्माण भएको हो।

पुलको निर्माण जिम्मा कालिका-कल्पवृक्ष जेभीले पाएको थियो। पुलको कुल २ सय ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ। पुल कर बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनिले हालसम्म प्रतिशत भुक्तानी भइसकेको छ।

सो पुल निर्माणको म्याद २०८२ साल भदौ मसान्तसम्म भए पनि निर्माण कम्पनीले यसै असारभित्र काम सकेर जिम्मा लगाउने तयारी गरेको थियो। तर पुलको निर्माण नसक्दै भत्किएको छ।

यो पुल मन्थली नगरपालिका-६ र ७ लाई सिधा जोड्न तथा मन्थलीबाट खाँडादेवी, दोरम्बा शैलुङ, सुनपाति गाउँपालिका जान छोटो दुरीको सडक हुने गरी निर्माण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *