ऋषभ पन्तको नाममा बन्यो अनौठो रेकर्ड, देशबाहिर शतक बनाउँदा कुनै खेल जितेनन्
काठमाडौं । भारतीय विकेटकिपर तथा ब्याटर ऋषभ पन्तले इङल्याण्डको लिड्समा भएको इङल्याण्डविरुद्धको टेस्टमा दुवै इनिङमा शतक प्रहार गरेर नयाँ इतिहास बनाए । उनी टेस्ट खेलमा दुवै इनिङमा शतक बनाउने पहिलो भारतीय खेलाडी बने ।
यससँगै उनी टेस्ट खेलको दुवै इनिङमा शतक बनाउने दोस्रो विकेटकिपर बने । उनीअघि जिम्बाब्वेका एन्डी फ्लावरले मात्रै विकेटकिपरको रुपमा खेलेर दुवै इनिङमा शतक बनाएका थिए । फ्लावरले २००१ मा दक्षिण अफ्रिकाविरुद्ध दुवै इनिङमा शतक बनाएका थिए ।
ऋषभ पन्तको नाममा अर्को अनौठो रेकर्ड पनि बनेको छ । उनले भारतबाहिर खेलिएको टेस्टमा शतक बनाउँदा भारतले कुनै पनि खेल जितेको छैन । पन्तले कूल ८ टेस्ट शतक बनाएका छन् र भारतबाहिर ६ वटा शतक बनाएका छन् । तर, यीमध्ये ५ शतक बनेका खेल भारतले हारेको छ र एउटा ड्र भएको छ ।
पन्तले पहिलो शतक २०१८ मा ओभलमा इङल्याण्डविरुद्ध बनाएका थिए । यो खेल भारतले ११८ रनले हारेको थियो । उनले अर्को शतक २०१९ मा सिड्नीमा अस्ट्रेलियाविरुद्ध बनाए । यो खेल ड्र भयो । उनले २०२२ मा केपटाउनमा दक्षिण अफ्रिकाविरुद्ध शतक बनाउँदा यो खेल भारतले ७ विकेटले हारेको थियो ।
यस्तै २०२२ मै बर्मिंघममा इङल्याडविरुद्ध पन्तले शतक बनाए । यो खेल इङल्याण्डले ७ विकेटले जित्यो । भर्खरै इङल्याण्डविरुद्ध लिड्समा भएको खेलमा पन्तले दुवै इनिङमा १–१ गरी कूल २ शतक बनाए । तर यो खेल पनि इङल्याण्डले ५ विकेटले जित्यो ।
पन्तले अन्य दुई शतक भारतमा बनाएका थिए । उनले भारतमा शतक बनाउँदा भने दुवै खेल भारतले जितेको छ । पन्तले २०२१ मा अहमदाबादमा इङल्याण्डविरुद्ध खेल्दा र २०२४ मा चेन्र्नमा बंगलादेशविरुद्ध खेल्दा शतक बनाए । भारतमा भएका दुवै खेल भने भारतले जितेको थियो ।







डिसी नेपाल







Facebook Comment