लघुकथा : बुहारी
`बुहारी मान्छे नि यति बेलासम्म सुतिरहेकी, किन हो? बिहान उज्यालो हुँदा त दैलो कुचो सबै भ्याउनु पर्ने ! कस्ति अल्छी
रहिछे।´ सासुले हकारिन्।
जर्याक जुरुक् उठेर केही नबोली बुहारी आफ्नो काम गरिरहन्छिन्। नन्द र ससुरा पनि उसैमाथि खनिन्छन्। जति काम गरे पनि कहिले देख्ने होइनन्। विरक्तिएर कोठामा पस्छिन्। लोग्ने सुतिरहेको छ। उसलाई कसैले केही भन्दैन।
उनी सोच्छिन्, `आफ्नो छोराछोरी र बुहारीमा यत्ति फरक? आफ्नो पनि छोरी छे, भोलि बुहारी हुन्छे। मनको बह कस्लाई पोख्नु? श्रीमान् पनि कुरै बुझ्दैनन्। परिवारको कान्छो छोरो भएर पो हो कि? जिम्मेवारी भन्ने केही नलिने! यसरी त कति दिन चल्छ र? सधै अल्लारेपना।´
लोग्ने बिउँझिन्छ र बेड टी माग्छ। उनी केही नबोलेर भान्छामा जान्छिन्। चिया उम्लिदै गर्दा उनी अन्तर्मनलाई सोध्छिन्, `सबै घरका बुहारीलाई मेरोजस्तै व्यवहार हुन्छ र?´
अर्को मनले भन्छ, `छैन नि! पल्लोघरे सीतालाई हेर त! उसको परिवारमा सबैजना बुझ्ने छन्। ”
ऊ एकोहोरो टोलाउँछे। उसलाई लाग्छ, `विभेदको अन्य भए त सबै परिवारमा एकता कायम हुन्थ्यो नि!”
















Facebook Comment