गैर नेपालीलाई नागरिकता दिएको आरोपमा ५ जना पक्राउ

डिसी नेपाल
१६ भदौ २०७६ ९:१६

काठमाडौँ । आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन्।

पक्राउ परेका बराल विर्तामोड नगरपालिका–८ का वडासचिव हुन् । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनले घटनामा संलग्न अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिन बाँकी रहेकाले सबै कुरा भन्न नमिल्ने बताए ।

गैरकानूनीरूपमा गैरनेपालीलाई नागरिकता दिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी यसअघि नै छानविन शुरु गरेको थियो । निलम्बनमा पर्ने कर्मचारीमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, नायबसुुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन्। उनीहरुले ‘सेटिङ’मा गैरनेपालीलाई नागरिकता दिएको आरोप छ।

गैरनेपालीलाई नागरिकता दिन सिफारिश गर्ने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथि समेत छानविन थालिएको बताइएको छ ।प्रशासन स्रोतका अनुसार विसं २०७३ देखि २०७६ सम्ममा १६ गैरनेपालीलाई नागरिकता दिइएको छ । १६ गैरनेपालीलाई नागरिकता दिँदा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्रले सनाखत गराएका छन् भने नायबसुब्बा निरौलाले टिप्पणी पेस गराएको आरोप छ। त्यसपछि अधिकृत ढुङ्गेलले नागरिकता जारी गरेको बताइएको छ।

यसरी विभिन्न समयमा १६ जनाको नागरिकता जारी गर्दा नौ जनाको बाबु एउटै कायम गरिएको छ । गृह मन्त्रालयले नक्कली नागरिकता जारी गर्ने कर्मचारीलाई निलम्बन गर्दै कर्मचारी र नागरिकताबारे थप छानविन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई जिम्मेवारी दिएको बताइएको छ। गैरनेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको पनि पाइएको छ। नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नागरिकता दिइएको पाइएको हो।

टेकबहादुर र रिनालाई बुबाआमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ छन् । उनीहरु सबैको ठेगाना झापा कायम गरिएको छ। यसैगरी, गैरकानूनी रूपमा नागरिकता पाउनेमा धाइजन–६ झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङलगायत छन्।

गृह स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय झापाले गैरकानूनी रूपमा २०७६ जेठ १२ मा तीनलाई, जेठ २० मा एकलाई र जेठ २१ तीन जनालाई नागरिकता वितरण गरेको छ। यसैगरी, २०७६ जेठ ६ मा चारलाई नागरिकता दिइएको छ। यसअघि २०७३ माघ १० गते तीन जनालाई गैरकानूनी रूपमा नागरिकता दिइएको स्रोतले जानकारी दिएको छ।

विसं २०७३ मा गैरकानूनी रूपमा नागरिकता वितरण गर्ने तत्कालीन प्रशासकीय अधिकृत चूडाराज भट्टराईमाथि समेत छानविन थालिएको छ भने तत्कालीन शरणामती गाविसका सञ्चालक समितिका अध्यक्ष भवकृष्ण न्यौपाने पनि छानविनको घेरामा परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *