पहिलो हाफमा साम्बाको ह्याट्रिक
काठमाडौं। एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० को अग्रता बनाएको छ।
उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा जारी खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिकमा नेपालले ४ गोल हानेको हो। जारी खेलको सातौँ मिनेटमा रश्मी कुमारी घिसिङको गोलले नेपालले अग्रता लिएको थियो।
२० औं मिनेटमा सावित्रा भण्डारीको गोलमा नेपाले अग्रता दोब्बर बनायो। ३६ औं मिनेटमा कप्तान साम्बाले फ्रि-किकमा सीधै गोल गरिन्। तर रेफ्रीले गोल दिएनन्। ४२ औँ मिनेटमा साम्बाले अर्को गोल गर्दै ३-० काे अग्रता दिलाइन्। पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै साम्बाले ह्याट्रिक पुरा गरिन्।
नेपालले आफ्नो पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो। नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको उक्त खेलमा नेपालको नयाँ कप्तानको रूपमा सावित्रा भण्डारी साम्बाले जिम्मेवारी सम्हालेकी थिइन् र एक्लैले ४ गोल पनि गरिन्।
यस अघि श्रीलंकाले भने घरेलु टोली उज्बेकिस्तानसँग १०-० को फराकिलो हार बेहोरेको थियो। अहिलेसम्म नेपाल र श्रीलंका १० पटक आमुन्नेसामुन्ने भएका छन्। महिला फुटबलमा नेपाल श्रीलंकासँग हालसम्म अपराजित छ । फिफा वरियतामा नेपाल १००औं तथा श्रीलंका १५९औं स्थानमा छन्।
समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन्। फिफा वरियतामा ५१औं स्थानमा रहेको उज्बेकिस्तान यस समूहको सबैभन्दा बलियो टोलीको रूपमा छ। नेपालले हालसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन। समूहको शीर्षमा रहने टोली आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ। त्यस्तै अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ।







डिसी नेपाल







Facebook Comment