हामीले नेतृत्वदायी प्रधानाध्यापक र नेतृत्वदायी शिक्षक खोजेका छौँ: उपप्रमुख डंगोल
काठमाडौं। काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रुपमा प्रधानाध्यापकलाई तथा बालमैत्री र हरेक समस्याको समाधान दिन नेतृत्वदायी शिक्षकको भूमिका खोजेको उपप्रमुख सुनिता डंगोलले बताएकी छन्। गएको ३ वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरु ननग्रेडेड नतिजा भएका विद्यालयहरुका प्रधानाध्यापकहरुसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन्।
उनले भनिन्, ‘चुनौती छन्। यसकारण नेतृत्वको खोजी भएको हो। साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ। यसपछिको एक महिना ननग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ। त्यसपछि सबै समस्या केलाएर, सिप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौँला।’
छलफलमा शिक्षा अधिकृत केशव ज्ञवालीले, प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरुको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरु शिक्षासँगै श्रम क्षेत्रमा आवद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीहरुको एसईईको नतिजा राम्रो नभएको उल्लेख गरे।
छलफलमा विद्यालयका प्रधानाध्यापकहरुले नतिजा सुधारका लागि आउँदो १ महिना अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिबद्धता जनाए। उनीहरुको दृष्टिमा केही विद्यार्थीहरुमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उल्लेख गरे।
प्रधानाध्यापकहरुले थप कारण देखाउँदै भने, ‘केही मेहनेत गर्ने विद्यार्थीको पनि ननग्रेडेड नतिजा आयो। कति विद्यार्थीले जाँच दिए तर गयल देखायो। घरमा दिनहुँ झगडा छ, बालबालिकाले पढाइमा ध्यान दिनै सक्दैनन्। अभिभावक जिम्मेवार नभएका कारण विद्यार्थी कसैलाई टेर्दैनन्। कतिपय बालबालिकाले श्रममा आवद्ध भएर अभिभावकको भूमिका बहन गर्नुपर्ने ठाउँमा छन्। उनीहरु चाहेर पनि पढाइमा ध्यान दिन सक्दैनन्। कतिपय विद्यार्थीहरु अभिभावकलाई टेर्दै टेर्दैनन्। अभिभावकलाई साथी जत्तिको पनि मान्दैनन्। अभिभावकलाई उनीहरुको शैक्षिक सुधारका लागि बोलाउँदा विद्यालयमा आउनु नै हुन्न। विहान पढायो। त्यसपछि खाना खान घर पठाउँदा विद्यार्थी फर्केर विद्यालय नै आउँदैनन्। गयल हुन्छन्। विषयगत शिक्षकको अभाव भयो। दरबन्दी छ, शिक्षक छैनन्। विद्यालय वरिपरिको वातावरण राम्रो भएन यसकारण उनीहरुमा खराब बानीको लत छ। यस्ता धेरै कारणले केही विद्यार्थीहरुको एसईईको नतिजा बिग्रिएको हो।’
२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट ४ हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए। परीक्षार्थीमध्ये ९५६ जना (नन ग्रेडेड)ले पुन परीक्षा दिनु पर्ने भएको छ। उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन्। यसमा १७ जनाले ४ जीपीए पाएका छन्। गएको वर्ष ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए। गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका हुन्। यो विद्यालयहरुको शैक्षिक गुणस्तरमा आएको सुधार, विद्यार्थीहरुमा मिहनेत गर्ने बानीको विकास, शिक्षकहरुको अध्यापनप्रति बढ्दो सक्रियता, नतिजा सुधारका लागि महानगरपालिकाले विदाका समयमा सञ्चालन गरेका क्याम्पहरु तथा विशेष निगरानी कक्षाबाट आएको परिवर्तन हो।
३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १४८ जना छ। यस्तै २.८१ देखि ३.२ जीपीए ल्याउने ८९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २५७ जना, २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना छन्। यसमा गएको वर्ष क्रमशः १ हजार ५० जना, १ हजार ८० जना, ३९५ जना र १६ जना विद्यार्थी थिए। यसरी हेर्दा उत्कृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भइरहेको छ। तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको छ। यो नतिजा सुधारका कोणबाट सकारात्मक सुधार हो।







डिसी नेपाल







Facebook Comment