उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

डिसी नेपाल
२० असार २०८२ २२:३३
60
Shares

काठमाडौं। काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ। उपत्यकामा मध्यम वर्षा भएको छभने सिन्धुपाल्चोकका केही क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज साँझ उपत्यकाको पानीपोखरी क्षेत्र र आसपासमा पछिल्लो १२ घण्टामा १५.६ मिलीमिटर वर्षा भएको छ। बूढानीलकण्ठ, तारकेश्वर क्षेत्रमा समेत वर्षा भएको छ। उपत्यकाको अन्य क्षेत्रमा पनि वर्षा भएको उनले बताए।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ काठमाडौंको विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको थियो। तर अहिले वर्षा उपत्यकामा कम भएको जनाइएको छ।

पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ७६.४ मिलीमिटर वर्षा भएको छ। सोही जिल्लाको शेरमानथानमा ५५.६ मिलीमिटर वर्षा भएको छ। यो भारी वर्षा हो। दोलखाको जिरीमा ४४.८, सोलुखुम्बुमा ३५.६ र झापाको केचनाकवलमा ३३.४ मिलीमिटर वर्षा भएको मौसमविद् महर्जनले जानकारी दिए। यो मध्यम वर्षा हो।

अहिले सातै प्रदेशमा बदली भएको र ती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। राति पनि आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ। केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महर्जनले बताए ।

उनका अनुसार मनसुन अवधिको आजसम्म देशभर सरदरको २१.७ प्रतिशत वर्षा भएको पनि उनले बताए। काठमाडौं उपत्यकामा यो अवधिमा पर्ने सरदरभन्दा माथि वर्षा भएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.