मन्त्रीको घुसकाण्डले सरकारको छातीमा कुशासनको तक्मा थपियो : किराती

डिसी नेपाल
२९ असार २०८२ १५:०६
92
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस काण्डको अडियो बाहिरिएको भन्दै सुशासनको लागि भन्दै बनेको सरकारको छातिमा फेरि कुशासनको तक्मा थपिएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको छविमाथि अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठेको भन्दै उनले यसबारे सरकारको तर्फबाट संसद्लाई जानकारी गराइनुपर्ने बताएका हुन्।

उनले भने, ‘सामान्य प्रशासन र भूमि सुधारमन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के हो ? मलाई राम्रो संग स्मरण छ यही उभिएर सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा ‘म भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न। यो जुनीमा त के अर्को जुनीमा पनि चित्र गुप्ताको अगाडि उभिएर जवाफ दिन्छु। हामीलाई अर्को जुनी र चित्र गुप्ताको विश्वास छैन। त्यसैले सरकारको तर्फबाट यो सार्वभौमिक संसदलाई सत्यतथ्य जवाफ चाहियो।’

साथै उनले स्पेनमा आयोजित प्रधानमन्त्री केपी शर्मा ओली सहभागि हुने कार्यक्रमको नाममा भएको मानव तस्करी छानविनको माग गरेका छन्। उनले उक्त विषयमा सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाहीको माग गरे।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था मन्त्रीको घुस डिल सम्बन्धी समाचारहरु सार्वजनिक भएको भन्दै यसबारे प्रधानमन्त्रीले सदनमा जानकारी दिन माग गर्नुभयो । सुशासनका बिषयमा सरकारले बलियो कलम चाल्न समेत उहाले माग गरे।

त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाखको डिल गरेको भन्ने समाचारहरु बाहिर आइरहेको भन्दै प्रधानमन्त्रीले सदनमा जानकारी गराउन माग गरिन्। उनले यस प्रकरण छानविन गरी दोषी भेटिए कारवाही हुनुपर्ने उल्लेख गरिन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि प्रतिपक्षीले सरकारको जवाफ माग गरेको हो। यस बिषयमा सत्तापक्ष दलबाट भने कुनै प्रतिक्रिया आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.