कागखोलामा ‘बेलिब्रिज’ जडान थालियो
मुस्ताङ । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको कागखोलामा अस्थायी ‘बेलिब्रिज’ जडान सुरु गरेको छ। त्यहाँ एक महिनाभित्रै बेलिब्रिज जडान सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो।
कोरला जोड्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीस्थित कागखोलामा २०८० साउन २८ गते कागखोलाको बाढीले त्यहाँको पक्की मोटरेबल पुल बगाएको थियो। खोलामा पुल नहुँदा कोरला नाका र उपल्लो मुस्ताङ आउजाउ गर्न समस्या भएको थियो।
कागखोलामा बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको राहुघाट गलेश्वरमा रहेको अस्थायी बेलिब्रिजलाई कागखोलामा स्थान्तरण गरिन लागिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले जानकारी दिए। म्याग्दीको राहुघाट खोलामा पक्की पुल निर्माण भइसकेकाले त्यहाँ राखिएको अस्थायी बेलिब्रिजलाई कागबेनीस्थित कागखोलामा स्थानान्तरण गर्न लागिएको हो।
“साउन अन्तिमसम्म बेलिब्रिज जडान गर्ने कार्य सम्पन्न हुनेछ”, उनले भने। पक्की मोटरेबल पुल निर्माण प्रक्रिया ढिलो हुने देखिएकाले राहुघाट खोलाको पुल कागबेनीमा जडान गर्ने तयारी गरिएको हो। राहुघाटको बेलिब्रिज ढुवानी र जडान, ग्याबिन फाउन्डेसन र ग्याबिन वाल निर्माण गरी क्याप ढलान गरेर बेलिब्रिज निर्माण गरिने आयोजना प्रमुख धुव्र झाले जानकारी दिए। करिब ३५ लाख लागतमा बेलिब्रिज निर्माण गर्न लागिएको हो।
मुस्ताङको कागबेनीमा बाढीले पक्की पुल क्षति भएपछि आयोजनाको समन्वयमा पुलचोक क्याम्पसका इन्जिनियर तथा विज्ञ टोलीले त्यस क्षेत्रको स्थलगत अध्ययन गरेका थिए। त्यहाँको भौगर्भिक अवस्थाको अध्ययन गरेर नयाँ पुल निर्माण गर्न नयाँ डिपिआर सर्भे गरिएको थियो। बाढीले पुल क्षति बनाएको दुई वर्षपछि त्यहाँ अस्थायी बेलिब्रिज जडान गर्न लागिएको हो।
राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोघेकर दमोदरकुण्ड–२ घमीमा कोरला जोड्ने पक्की पुल निर्माणाधीन अवस्थामा छ। त्यसबाहेक बेनी–जोमसोम–कोरला सडकखण्डको अधिकांश स्थानमा पक्की मोटरेबल पुल निर्माण भइसकेका छन्।
कागखोलामा पुल नहुँदा बर्खायाममा उपल्लो मुस्ताङ आउजाउ गर्ने नागरिकलाई समस्या भएको छ। त्यहाँ बेलिब्रिज निर्माण भए उपल्लो मुस्ताङ आउजाउ गर्नेलाई सहज हुने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment