गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष अहिरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डिसी नेपाल
१९ साउन २०८३ १५:१७

काठमाडौं । दाङको गढवा गाउँपालिकामा नदीजन्य पदार्थको संकलन तथा निकासीको टेन्डरमा राजस्व चुहावट गरी सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/७७ मा भएको अनियमिततालाई आधार बनाउँदै विशेष अदालत, काठमाडौंमा उक्त मुद्दा दायर गरेको हो।

अख्तियारले यस प्रकरणमा संलग्न तत्कालीन गाउँपालिका अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। यसैगरी, सगुन कन्सट्रक्सनका प्रबन्ध निर्देशक शहदेव खड्का, कम्पनीका प्रतिनिधि विरास पुन तथा सगुन कन्सट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि, बुटवललाई समेत प्रतिवादी बनाइएको छ।

अख्तियारको आरोपपत्र अनुसार आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिका अन्तर्गत वडा नम्बर १ र २ का विभिन्न क्षेत्रमा नदीजन्य पदार्थ संकलन तथा निकासीका लागि ठेक्का दिइएको थियो। सोही टेन्डर प्रक्रियाका क्रममा नियम विपरीत एक करोड ४१ लाख ५० हजार रुपैयाँ राजस्व छुट दिइएको पाइएको छ। यसरी मिलेमतो गरी सरकारी राजस्वमा चुहावट गराएर राज्यलाई आर्थिक नोक्सानी पुर्‍याइएकाले अख्तियारले कानुन बमोजिम सजाय र बिगो असुलउपर गर्न माग दाबी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *