निबन्ध

कैयौं यात्राका सैयौं गन्तव्यहरू

ज्ञानेन्द्र विवश
३ साउन २०८२ ७:०१
40
Shares

जीवन आफैँ एक यात्रा हो-अनन्तः अनिश्चित र अदृश्य गन्तव्यतर्फ लम्किरहेको यात्राको शाश्वत सिलसिला। हामी मात्र यात्रु हौँ, कहिले हिँडिरहेका, कहिले थाकिरहेका, कहिले रमाइरहेका ! खुसी भेट्नलाई दुःख सहनै पर्छ। सुख पाउँनलाई दुःख बिर्सनै पर्छ। कैयौँ यात्राका सैयौँ गन्तव्यहरूमा हामीले यही खुसीकै प्राप्तिमा मरिमेटिरहेका हुन्छौँ।

यात्राको पहिलो पाइतो- कुनै अञ्जान गन्तव्यतर्फ। जहाँ हामी जानुपर्ने हो त्यो ठाउँ हाम्रा लागि नयाँ नै हुन्छ। कैयौँ यात्रा गर्दागर्दै, सैयौँ गन्तव्यहरू भेटिन्छन्। तर, कुन हो ‘त्यो अन्तिम गन्तव्य ?’ थाहा हुँदैन। किनभने जिन्दगीभरि यात्राको क्रम चलिरहन्छ।

एक गन्तव्य पुग्दा लाग्छ, अब पूरा भयो। अब विश्राम होला। तर होइन, त्यो त अर्को यात्राको थालनी मात्र पो हुँदोरहेछ।

गन्तव्यभन्दा यात्रामा नै सौन्दर्य छ। बिहानको सिर्सिरे हावासँगै चारो खोज्न उडेको चराका बथान। साँझको आकाशमा बिसाउँन खोजिरहेको सूर्य। अनि बाटोमा भेटिएका अपरिचित अनुहारका मुस्कानहरू ! यी सबै यात्राका सम्झनाहरू हुन्। यसले जीवनलाई कविता बनाउँछन्। कथा सुनाउँछन्। निबन्ध लेखाउँछन्।

कुनै यात्रामा मैले देखेँ- विदेशी वृद्ध दम्पत्ती। हात समाएर हिँडिरहेका। उनीहरूलाई हिँड्न सकिँदैन भन्ने डर छैन। गन्तव्य नपुगिएला भन्ने लाग्दैन। शरीर झुकेको, तर मन सिधा आकाश छुन खोजेजस्तो। उनीहरूको गन्तव्यभन्दा यात्रामा देखिने आत्मीयता बोलिरहेथ्यो- ‘साथमा हिँड्नु नै रोचक र रोमाञ्चक यात्रा तथा गन्तव्य हो।’

कुनै यात्राले मलाई हात समाउँदै, डोर्‍याउँदै उकालीको श्वास फेर्नेसम्म थकाइ नभनी पुर्‍यायो। तर, जब त्यो चुचुरोबाट तलको दृश्य देखेँ, थकाइ त के, म त आँखामै गहिरिएँ- जसरी प्रेममा मान्छे हराउँछ। ती थकाइले सिकायो- ‘कष्ट बिना सौन्दर्यको अनुभूति अधुरो हुन्छ।’

जीवनका यी यात्राहरू ठाउँको नामले छुट्याइँदैनन्। कति यात्राहरू आफ्नै अन्तर्मनभित्र गरिन्छ। आत्माको गल्ली हुँदै पीडाको पगडन्डी पार गर्दै सन्तोषको चौतारीमा पुगेका यात्राहरू ! भुलिएको कुनै सपना सम्झिँदै, नबोलेको कुरा आफ्नै आत्मासँग बोल्दै, कतिपल्ट गहभित्रै रमाएर यात्रामा हिँडियो।

सैयौँ गन्तव्यहरूमा पुगियो। आफ्नै देशको पहाडी तरेली टेकियो। हिमाली टाकुरामा पुगियो। तराईको भूमिमा घुमियो। कहिले घनाजंगलको बाटो डराउँदै कुनै गाउँको गोठ, र कहिलेकाहीँ मनको एकान्त कुना। तर, ती सबै गन्तव्यहरूमा एउटै अनुभूति दोहोरियो- ‘म अझै पनि हिँडिरहेछु। नथाक्नुज्याल हिँडिरहनेछु। हिँडेर पुगिने गन्तव्यले मलाई ज्ञानको सागरमा पुर्‍याउने छ। प्राप्तिको शिखरमा चढाउने छ।’

यात्रा कहिल्यै अन्त्य हुँदैन- एक ठाउँमा पुगेर सुरु हुने अर्को रहर, अर्को बाटो, अर्को कथा। हरेक यात्राले फरक अनुभव प्रदान गर्छ। यही फरक अनुभव ग्रहणका निम्ति हामी यात्रामा प्रस्थान हुने रहर गर्छौँ।

यात्राले कहिल्यै विश्राम लिँदैन। जति थाके पनि, जति भोकाए पनि। बरु हिँड्ने भोक लागिरहन्छ। नयाँ गन्तव्य पुग्ने रहर जागिरहन्छ। नयाँ अनुभव बटुल्ने जाँगर चलिरहन्छ।

हामी धेरैजसो गन्तव्य खोज्दै यात्रामा निस्किन्छौँ, तर मैले समयसँगै बुझेँ- यात्रा नै अन्ततः गन्तव्य रहेछ। किनभने यात्रा केही बेरको विश्राम हो, जहाँ बाटो फेरिन्छ, तर हिँडाइ फेरिँदैन। र, गन्तव्य भने सधैँ नयाँ बनेर यात्राको झोलीतुम्बा भिरेर हिँडिरहन्छ।

कहिले मेरै आँसुको नदीमा, कहिले प्रेमको जंगलमा, कहिले मनको उकालीमा, कहिले विगतको बगरमा। र, सयौँ गन्तव्यहरू- जहाँ मैले हाँसो भेटेँ, पीडा भेटेँ, आफूलाई भेटेँ, अनि कहिलेकाहीँ त परम शून्यता पनि भेटेँ।

अन्ततः यही बुझाइमा पुगेँ- जीवन एउटा यात्रा हो, जसको गन्तव्य ‘पुगेँ’ भन्ने क्षणमा होइन, हिँडिरहेकै क्षणमा लुकेको हुन्छ। त्यसैले म हिँडिरहेछु– कहिल्यै नथाक्ने यात्रु भएर, कैयौँ यात्रा गर्दै, सैयौँ गन्तव्यहरू पार गर्दै… साँच्चिकै बाँचेको आगत-अनुभूतिमा रमाउँदै।

कैयौँ यात्राका सैयौँ गन्तव्यहरू ! जीवन आफैँमा एउटा अनन्त यात्रा हो, जहाँ प्रत्येक मोडमा नयाँ गन्तव्यहरू भेटिन्छन्। प्रत्येक गन्तव्यले अर्को यात्राको बीऊ रोप्छ। हामी यौटा यात्रापछि अर्को यात्राको तयारीमा लाग्छौँ।

यद्यपि कहिल्यै नपुगिने गन्तव्य जस्तै सिकेर कहिल्यै नसकिने कति कुरा बाँकी नै रहिरहेका हुन्छन्। ‘कैयौँ यात्राः सैयौँ गन्तव्यहरू’ जस्तै पुग्नुपर्ने, हेर्नुपर्ने कुरा सैयौँ हुन्छन्। यसले जीवनको सनातन चक्रलाई अभिव्यक्त गर्छन्। त्यस यात्रामा जटिल, सुन्दर र निरन्तर परिवर्तनशील पहिचान दृष्टिगोचर हुन्छ। भौगोलिक यात्राको कुरा होइन, मन, आत्मा र अस्तित्वको यात्रा हो।

यात्राको परिभाषा फराकिलो हुन्छ। कहिले यो हिँडेको बाटो हुन्छ, कहिले लेखेको कविता। कहिले यो बोलेको शब्द हुन्छ, कहिले देखेको सपना। कहिले बिर्सेको कुरा झल्याँस्स सम्झिएको मीठो याद हुन्छ। जे भए तापनि यात्राले जीवनमा नपढिएको पाठ पढाउँछ। नदेखिएका दृश्य देखाउँछ।

हामी भौतिक रूपमा यात्रा गर्छौँ, हामी नयाँ ठाउँ, नयाँ प्रकृति र नयाँ मानिसहरूसँग साक्षात्कार गर्छौं। हिमालको चुचुरो चुम्ने यात्रा होस् वा गाउँको सानो गोरेटो हिँड्ने। हरेक यात्राले हामीलाई केही न केही सिकाइरहेको हुन्छ। हामीले नदेखेका दृश्य देख्न पाउँछौँ। नपुगेका ठाउँ टेक्न पाउँछौँ। जीवनमा कहिल्यै नभेटिएका मान्छेसँग बातचित गर्ने अवसर पाउँछौँ।

यात्राबाट फर्किएपछि हामीभित्र यात्राका अनेकौँ सम्झनाहरू अटेसमटेस खात लाग्छन्। हामी धेरै जानकार बन्न पुग्छौँ। यात्रा पश्चात्का तिनै प्राप्तिले हाम्रो सोँचाइ, बुझाइ र बोलाइमा प्रभाव पर्छ। हाम्रो लेखनको प्रस्तुति र प्रवाहमा गति आउँछ। यसरी पाइलाका डोबहरू र यात्राका पदचापहरूले छिचोलेका गन्तव्यले हामीलाई ज्ञानको संसारमा पुर्‍याउँछ।

पाइला हिँडेपछि पहाडका उकाली-ओरालीमा हिँड्दा हुने शारीरिक थकाइ केही हुँदैन। भेटिने शान्ति, नदीको कलकल, छागाछहराका छङ्छङमा सुनिने संगीतभित्र लुकेको ऊर्जाले हामीलाई भिन्न-भिन्न गन्तव्यको अनुभव गराउँछ। यी गन्तव्यहरू भौतिक स्थान मात्र नभएर हाम्रा भावना, सोँच र दृष्टिका नयाँ आयाम थपिदिने माध्यम पनि हुन्।

तर, यात्रा भौतिक मात्र हुँदैन। हामी भित्रभित्रै पनि कैयौँ यात्रा गरिरहेका हुन्छौँ। बाल्यकालको निश्चिन्त यात्राबाट किशोरावस्थाको जिज्ञासु यात्रा हुँदै युवावस्थाको ऊर्जावान् यात्रासम्म, प्रत्येक चरणमा हाम्रा गन्तव्यहरू बदलिन्छन्।

ज्ञानको खोजीमा गरिने बौद्धिक यात्रा, आत्मबोधको लागि गरिने आन्तरिक यात्रा र प्रेमको पछि लाग्दा गरिने भावनात्मक यात्रा- यी सबैले हामीलाई गन्तव्यसम्म डोर्‍याउँछन्। गन्तव्य सधैँ एउटै बिन्दुमा पुग्नु होइन, गन्तव्य भनेको यात्राभरि बटुलिएका अनुभवहरूको संग्रह पनि हो।

हामीले भेट्ने प्रत्येक व्यक्ति, हामीले पढ्ने प्रत्येक पुस्तक, हामीले देख्ने प्रत्येक दृश्य, हामीले सुन्ने प्रत्येक धुन- यी सबै आफैँमा एक-एक गन्तव्य हुन्। कुनै गन्तव्यले हामीलाई परम आनन्द दिन्छ, कुनैले पीडा। कुनैले उत्साह दिन्छ, कुनैले निराशा। तर, हरेक गन्तव्यले हामीलाई केही न केही सिकाउँछ। यी अनुभवहरूले हामीलाई थप परिपक्व र अनुभवी बनाउँछ।

जीवनमा गन्तव्यहरू अनेकौँ छन्। कहिले यो सफलताको शिखर चुम्ने लक्ष्य हुन्छ, कहिले शान्तिको खोजी बन्छ। कहिले प्रेमको प्राप्ति हुन्छ, कहिले आत्मसन्तुष्टिको मीठो फल हुन्छ। हामी एउटा गन्तव्यमा पुग्छौँ नपुग्दै अर्को नयाँ गन्तव्यको चित्र हाम्रो मानसपटलमा कोरिसकेको हुन्छ।

यही निरन्तरताले जीवनलाई अर्थपूर्ण बनाउँछ। हामी दौडिरहन्छौं, खोजिरहन्छौं, सिकिरहन्छौं। सायद जीवनको सबैभन्दा सुन्दर पक्ष नै यही हो कि यसमा कुनै अन्तिम गन्तव्य छैन। यो त अनन्त सम्भावनाहरूको एक खुला मार्ग हो, जहाँ हरेक यात्राले नयाँ गन्तव्यमा पुर्‍याउँछ।

अन्ततः ‘कैयौँ यात्राः सैयौँ गन्तव्यहरू’ ले जीवनको यही गहिराइलाई आत्मसात गर्छ। यो एउटा यस्तो कलात्मक चित्र हो, जहाँ रङहरू यात्राका हुन् र आकारहरू गन्तव्यका।

हामी यसै यात्रामा आफूलाई खोज्छौँ, गुमाउँछौँ र फेरि भेट्टाउँछौँ। महत्वपूर्ण कुरा गन्तव्यमा पुग्नु मात्र होइन, यात्राभरि बाँचेका पलहरूलाई आत्मसात गर्नु हो, किनकि ती पलहरू नै हाम्रा जीवनका अमूल्य निधि हुन्। सकुशल यात्रा गन्तव्य भेट्नुको अर्को महत्वपूर्ण सन्तुष्टिको सिँढी हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.