सुशील लामाका तीन लघु कविता

सुशील लामा
५ साउन २०८२ १२:४०
32
Shares

अतृप्त अपेक्षा

दुर्घटनामा परेको सपनाहरुको
दाहसंस्कार गर्दा गर्दै
बनेको छ, देबघाट र आर्यघाट जस्तै-
जहाँबाट जो पनि
शाश्वत सत्य महाशून्यमा बिलीन हुन्छ।
अनि-
बने बेवारिसे टुहुरा
अतृप्त अपेक्षाहरु…
सुते शिशिरको चिसोमा कठ्याँग्रिएको नयाँ सडक पेटीमा
नांगो आकाश ओढेर
चल्दा-चल्दै
जिन्दगी त चालै नदिई
पाकेर पहेलपुर भैसकेको रहेछ।
पाकेर थाक्रामा अडेको जिन्दगी
किरिया घरमा सपनाहरू को बरखी बार्दै गर्दा
आँशुको बागमती बगेर पुगेका छन् टाढा…
वासना र आदर्श को झगडामा
बैँस को बैसाखी टेकेर
जीवनको
सिम भंज्याङ पुगेर मौन ब्रतमा तल्लीन छ।
अतृप्त अपेक्षा!
सोचिए को त थियो
मान्छे नै हुँ।
मान्छे जस्तै भएर बाँच्न
तर-
धेरै कुराहरु सोच्दा-सोक्दै
जिन्दगीका घुम्ती छिचोल्दै
चारदोबाटोमा पुगेर बाटो छान्दा।
जीवनका अर्थहरू फेरिँदै गए,
त्यही फेरिएको अर्थ
जिन्दगीको परिचय बने
संगत र कर्मका तालमेलले
कहिलेकाहीँ जिन्दगी
साँझमा मधुशालाको सोफामा ढले
कहिलेकाहीँ जिन्दगी
सत्यहरुलाई पुरेर
असत्य को साक्षी हुन बाध्य भए
थुप्रै मोड…
अनेकन घुम्ती, हरेक ‘टर्निङ प्वाइन्ट’ मा
आफू भन्दा अरु बनेर
बाँच्दा बाँच्दै
अतृप्त अपेक्षाहरु…
अमर-
कहिल्यै नमेटिने यादहरु सँगै बाँचिरहे।

काँडाहरु

फूल छेउको काँडाले बनाएको
घाउ उदेकलाग्दो तरिकाले निको हुँदा रहेछन्
भुलको काँडाले बनाएको घाउ
कहिल्यै निको नहुँदा रहेछन्
वनको काँडाको चोट भन्दा
मनको काँडाको खोट धेरै हुँदा रहेछ
पिरतीको प्रेमिल डालीमा उदिएको धारीला काँडाहरू
मित्रता को कोखमा उम्रेका बिशालु काँडाहरु
चोटैचोटको खातमा
मन चोइटिएर बनेका काँडाहरु
जीवनको गाँम-बेसीमा
वर्ण फेरिफेरि-रंग फेरिफेरि नुंगिँदाे रहेछ अनेकन काँडाहरु
सास फेर्न छोडेकालाई धरी
नछोड्ने रहेछ घाटेले घोच्न बाँसका हरिया काँडाहरु
रगत बग्दै गर्दापनि घोच्न नछोडेका काँडाहरु
जिन्दगीको डाँडैभरी
अनेकन काँडाहरु, पाइला-पाइलामा काँडाहरु
प्रेमको नाउमा उम्रेका प्रेमिल काँडाहरु
बिश्वास को पगरी गुथेर झाँगिँदै गरेको
अफ्ठ्यारा ऎंसेलुको काँडाहरु
काँडाहरूलाई रगत मन पर्छ
रगत मात्रै होइन ऎय्या र आथा सँगै बग्ने आँसु मन पर्छ
उनलाई मात्रै होइन
मलाई अरु को-कोलाई
कल्पना गरेको भन्दा गहिरो काट्यो
बौगुनी काँडाहरूले
अप्रत्याशित चोट पुर्‍यायो
तिखा काँडाहरुले—

रातो बाकस
मन आँशुबनेर पग्ल्दैछ
मुटु-
डाँडाको टुप्पोबाट गुडुल्केर
तल फेदीको कोखिलोमा पुगेर
विश्राम लिएको निर्जीव ढुंगा जस्तै बनेको छ।
किन भने-
फेरि आजपनि मेरो धराको
झरझाउँदो तातो रगत भएको युवा
चिसो मान्छे बनेर
रातो बाकस बनेर
फर्कँदैछ ।
रातो बाकस बनी
पराईको आँगनमा सपनाहरू रोप्दारोप्दै
अनगिन्ती सपनाहरूलाई थाँती राखेर ऊ ढले
कहिल्यै नउठ्ने गरी
ढल्नुको कारणहरु अज्ञात छन्
मान्नै पर्छ
अरुका तजबिजमा बनेको मृत्युको कारण
उ मात्रै ढलेन।
उनको सिंगो परिवारको भरोसा ढलेको छ
श्रीमतीको सिउँदो, आमाको काख, बा को बैसाखी
छोराछोरीको भविष्य
सबै-सबै भएको छ “उजाड”
उ फर्कैँदै छ।
बरफ बनेर…
सास नफेर्ने मुडो जस्तो बनेर
उहीँ बाटो-
बादलको पर्दा हटाउँदै आकाशको छात्ती चिर्दै
रातो बाकस बनेर—


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *