लघुकथा : योग्यता
सबै हतारिँदै झर्न लागे। सबै हतारिएकाले गर्दा एउटा मात्र ढोका पर्याप्त भएन। सबै हतारिएका र अरुभन्दा पहिल्यै झरेर सुरक्षित हुने ताकमा रहेकाले बसको ढोकाबाट सामान्य अवस्थामा ओर्ले जति मान्छे पनि ओर्लिन सकेका थिएनन्।
यो अवस्थालाई बोध गरेका केही यात्रु झ्यालबाट हम्फाल्न लागेका थिए। छरितो शरीर भएका केही त हम्फाली नै सकेका थिए।
एउटा मोटो मान्छे पनि झ्यालबाट ओर्लिन लागे झै देखियो। बल्लबल्ल टाउको छिरायो, अनि ज्यान छिराउन लाग्यो। काँटीमा अल्झेर त्यसको कपडा ध्यार्र भयो, कताकता दर्फरियो, रक्तमुछेल भयो र भुँइमा थचारियो।
हामीले हेल्थपोस्टमा पुर्याउँदा ऊ होसमा थिएन। उसलाई डाक्टरको जिम्मा लगाएर हामी बाहिर बेन्चमा बस्यौं।
केही समयपछि उसको होस खुलेको जानकारी भयो।
त्यो बसबाट किन त्यसरी ज्यानकै माया मारेर मान्छेहरु ओर्लिएका हुन् भन्ने हाम्रो मूल जिज्ञासा थियो।
उसले भन्यो-“खँलासीले हाँकेको रहेछ-बस। लाइसेन्स पनि रहेनछ। जब यो कुरा खुल्यो, सबैको हंसले ठाउँ छाडी हाल्यो नि!”
‘समाजका सबै नीतिको मूल नीति हो-राजनीति। राजनीतिको शीर्ष पदमा बस्नेका योग्यता कति हो? देश हाँक्नेको योग्यता के हो? योग्यतालाई उपेक्षा गरेर हामी कता जाँदैछौं? हाम्रो गन्तव्य के हो? हामो यात्रा सुरक्षित र सुनिश्चित छ?’ मनभरि हुँडलियो-प्रश्न।
तर यो छलफलका लागि उचित समय थिएन।
उसको आँखामा त्रास उत्रिसकेको थिएन।
No ads found for this position


Facebook Comment