लघुकथा: टिकटक
अस्पतालबाट फर्किएर घरमा बेडरेस्टमा रहेका बेला एउटा पाको डाक्टरसँग भएको अन्तरंग कुराकानी मनमा खेली रह्यो।
उसले भनेको थियो-“पाखापहरामा उकालोओरालो गर्थे-हाम्रा पुर्खा। अर्गानिक हुन्थे-खानेकुरा। शुद्ध हावापानी। हाम्रो जीवनशैली बिग्रियो। खानपान झनै बिग्रियो। शारीरिक श्रम हुँदै भएन। हामी तपाईंको जुन उमेरमा यस रोगको उपचार गर्दछौं, तपाईंका छोराछोरीलाई योभन्दा कम उमेरमा र नातिनातिनालाई अझ कम उमेरमा उपचार गर्नुपर्ला।”
उसको कुरा सम्झिएपछि ‘किन आइएछ-यो शहरमा’ भन्ने पनि लाग्यो।
अलिक तंग्रिएपछि गाउँ फर्किने सोच बनाएथें मैले।
दुई हफ्तादेखि यतै छु।
बारी बनमाराले ढाकेछ। आँगन र दलानमा पनि बनमारा। यो सबै फाँडफुँड गरेर कोदो रोप्न सुरले फर्किएको म। मान्छे फिटिक्कै पाइँदैन। आफू अलिअलि काट्छु; हात गल्छ, चिट्चिट् पसिना आउँछ। हातभरि फोकैफोका। खानबस्न पनि उति ठेगान भएन। पाँचसात दिनअघि जहानलाई पनि लिएर आउनु पर्यो-भनेर शहर आएको। जहान माने पो! उसलाई मनाउन चार दिनरात लागि हाल्यो।
हिजो बेलुका फेरि गाउँमा आइपुग्यौं।
विहान गएर हेर्दा बारीमा बनमाराको नामोनिसाना रहेनछ। आँखा मिचेर पनि हेरें। अहँ, बनमाराको त्यान्द्रो पनि छैन! बनमाराको जरोबुटो कतै देखिएन!
पछि कुरा बुझियो : कुनै टिकटकरले बनमाराको बोटै देखाएर यसको औषधीय गुणको बखान गरेछ। अरु टिकटकरहरूले त्यसैलाई पछ्याएछन्। बनमाराको टुप्पाले एउटा रोग, पातले अर्को रोग, डाँठले अर्को रोग र जराले अर्को रोग निर्मूल हुने कुरा हामी बुढाबुढीले पनि टिकटकमा सुन्यौं।
टिकटक सुनेपछि चारैतिरबाट धुरिएछन्-मान्छेहरू! कसले बढी काट्ने र बनमाराको भारी कसले धेरै खेप ओसार्ने भनेर कम्पिटिसन नै भएछ!
हाम्रो टाउको दुखाई सफाचट!
टिकटक- जिन्दावाद!!
















Facebook Comment