बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।
प्रदेशसभा सचिवालय परिसरमा आज भएको दलको निर्वाचनमा मख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामा तामाङलाई पराजित गर्दै बानियाँ विजयी भएका हुन्।
कांग्रेसका ३७ सांसदमध्ये बानियाँ २२ मतका साथ विजयी भए। लामाले १४ मातमै चित्त बुझाउनु पर्यो। एक मत बदर भएको थियो। नियाँ र लामा दुवै पार्टी सभापति शरबहादुर देउवा पक्षीय नेता हुन्।
९ साउनमा लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। १३ साउनमा अविश्वासको प्रस्तावको पक्षमा २२ मत पर्दा लामाको पक्षमा १५ मत मात्रै प्राप्त भएको थियो। त्यसपछि लामाले दल नेताको हैसियत गुमाएका थिए।
लामाले दलको नेताको हैसियत गुमाएपछि आज दलको नेता चयनका लागि निर्वाचन भएको हो। लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर उनको विपक्षमा उभिएका थिए।
यो दोस्रोपटक बानियाँ र लामाबीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको हो। यसअघि भएको प्रतिस्पर्धामा लामा विजयी भएका थिए। उनले २१ मत प्राप्त गरेका थिए भने बानियाँले १६ मतमा चित्त बुझाएका थिए।
संसदीय दलको नेतृत्वमा परिवर्तनसँगै बागमती प्रदेशको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ। मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव र दलको नेतामा भएको परिवर्तनले नयाँ सत्ता गठबन्धनको ढोका खुल्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन्।
यद्यपी, संसदीय दलमा पराजित भएका बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज तीनजना मन्त्री नियुक्त गरेका छन्।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुन लागिरहेको बेला लामाले आज अचानक तीन मन्त्री नियुक्त गरेका हुन्।
जसअनुसार मुख्यमन्त्री लामाले कांग्रेसका प्रदेशसभा सदस्यहरू मध्ये गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेको जनाइएको छ।
तर, हतार हतार गरेर तीन नयाँ मन्त्री नियुक्त गरे पनि सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण नगराउन आग्रह गरेकाले उनीहरूको सपथ रोकिएको थियो।







डिसी नेपाल







Facebook Comment