लघुकथा : बाहिरबाहिरै
बाहिरबाटै टिकट मिलाइ दिए। अनि पहिले वडामा र पछि सांसदमा जिताइ पनि दिए।
सांसदमा जित्न सजिलो थिएन, विपक्षी धनी थियो, उसको पार्टीको सङ्गठन पनि ठिकै थियो। अझ हरिहरकै पार्टीबाट बागी उम्मेदवार थियो। उ झन धनी थियो। त्यसले राम्रै भोट काट्ने संभावना
थियो।
हरिहरको पक्षमा उनीहरूका मान्छे खटे/मोटर दौडिए। तर हाम्रो लोकतन्त्रमा सिद्धान्त, संगठन र प्रचारप्रसार राम्रो भएर कहाँ हतपत चुनाव जितिन्छ? उनीहरूले पैसाको खोलै बगाएका थिए।
जितपछि आयोजना गरिएको सभामा उनीहरूले भनेकै थिए-“तिम्रो राजनीतिक यात्रा यहीं टुगिँदैन। यसपटक तिम्रो पार्टीले सरकार बनायो भने तिम्रो मन्त्री पद कतै जाँदैन।”
हरिहरले आफू मन्त्री हुने कुरा कहिल्यै सोचेको थिएन। तर पासा यसरी पल्टियो, हरिहर मन्त्री पनि भयो।
मन्त्री भएपछि पनि उनीहरूको साथसहयोग छुटेन। जटिल केसमा के गर्ने, के नगर्ने भन्ने कुराको परामर्श उनीहरू नै दिन्थे, हरिहरले सही गरिदिए पुग्थ्यो। सही गरी दिएपछि जो आउँथ्यो, हरिहरको भाग/खातामा पनि आउँथ्यो। उनीहरूले उठान गरेका कतिपय फाइलमा मन्त्रालयका कर्मचारीको फरक राय हुन्थ्यो। उनीहरू नै भन्थे-“मिल्नेलाई मिलाऔं, निमोठिने चै निमोठिई रहोस्।”
शत्रु लागेछन्। हरिहरमाथि झोसपोल भएछ। अन्तिमसम्म पनि उनीहरू ‘हामी छौं, जहाँ, जसरी, जेजे गर्नु पर्ने गरेर हामी बाहिरबाहिरै मिलाउँछौं’ पो भन्दै थिए, अभियोग पुष्टि भएर अदालतबाट निस्किँदा निस्किँदै हरिहरले पछाडि फर्किएर हेर्यो, उनीहरू कहाँ छुटेछन् हँ? हरिहरले पहिलोपटक देख्यो। ऊ एक्लो रहेछ।
















Facebook Comment