चिटिक्क बन्यो नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तल

डिसी नेपाल
१८ साउन २०८२ १३:३६
24
Shares

रामेछाप। रामेछापको मन्थली नगरपालिका-८ स्थिति गाईखुराको नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तलको जीर्णोद्वार गरिएको छ।

पुरातत्त्व विभागले जीर्णोद्वार गरेपछि महादेव मन्दिर र सत्तल चिटिक्क परेका छन्। गाई खुराको माझी बस्तीको बिचमा तामाकोसी नदी तटमा रहेको यो मन्दिर र सत्तललाई निक्कै पूराना मानिन्छन्।

इतिहास र भूगोलका ज्ञाता देवशंकर पौडेलका अनुसार यहाँको शिलालेखमा शाके संवत् १७५० र श्रीसंवत् १८८५ लेखिएको छ। यस हिसाबले यो मन्दिर र सत्तल २ सय वर्ष पुरानो भएको उनको भनाइ छ।

कान्तिमणि वैद्यले आफूले पाएको गाईखुराको बिर्तामा नर्वदेश्वर शिवलिङ्ग स्थापना गरेको र मन्दिरको छेउमा सत्तल बनाएको इतिहास रहेको पौडेलले जानकारी दिए।

झिँगटीको छानो लगाइएको सो सत्तल निक्कै कलात्मक थियो। उचित संरक्षण नभएर सत्तल भत्किएपछि अहिले पुरातत्त्व विभागले आधुनिक तरिकाले त्यसको जीर्णोद्वार गरेको छ।

झिँगटीको छानो हटाएर पाता ठोकिएको छ। काम लाग्ने पूराना काठपातहरु पुनः प्रयोग गरिएको छ भने पुरानो स्वरूप नबिग्रने गरी नयाँ काठपात र इँटा प्रयोग गरी पुनः सत्तल निर्माण गरिएको छ।

सत्तलसँगैको शिव मन्दिर पनि पुरातत्त्व नखलबलिने गरी आधुनिक हिसाबले निर्माण गरिएको छ। सत्तलको आसपासमा भएका केही शिलाहरूलाई सत्तलमा नै टाँसिएको छ भने कतिपय बाहिर भएका पुराना शिलाहरू भने हराइ नष्ट भएर गएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *