गोसाइँकुण्डमा यात्रुलाई निःशुल्क तातोपानीको व्यवस्था

डिसी नेपाल
२० साउन २०८२ १९:५२
40
Shares

रसुवा। जनैपूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डमा आउने भक्तजनका लागि यस वर्ष तातोपानीको व्यवस्था गरिएको छ। हरेक वर्ष साउनको एकादशीदेखि जनैपूर्णिमासम्म गोसाइँकुण्ड मेला भर्न आउने प्रचलन रहेबमोजिम त्यसतर्फ भक्तजन आउनेक्रम सुरु भएको छ।

धुञ्चेका युवा समूहमार्फत भक्तजनका लागि निःशुल्क तातोपानीको व्यवस्था गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले उल्लेख गरे। समुद्रसतहबाट चार हजार ३८० मिटरको उचाइमा रहेको सो कुण्डमा स्नान तथा पूजा आराधना गरे जानअन्जानमा गरिएका पापबाट मोक्ष प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ।

अहिले तीर्थयात्रीहरू धुञ्चे हुँदै त्यसतर्फ जानेक्रम सुरु भएको र यस वर्ष जनैपूर्णिमाका दिनसम्म करिब १५ हजार तीर्थालु भक्तजनले पवित्रकुण्डमा स्नान गर्ने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले जानकारी दिए।

उनका अनुसार गोसाइँकुण्ड यात्राका क्रममा धुञ्चेबाट खन्तिसम्मको अप्ठ्यारो पैदलबाटो मर्मतसम्भारसहित सरसफाइ गरिएको, खानेपानीको व्यवस्था मिलाइएको, ठाउँठाउँमा अस्थायी आवासको प्रबन्ध, गोसाइँकुण्डसहित बाटोमा पर्ने बुद्धमन्दिर, चोलाङपाटी, चन्दनबारी, देउराली, तिवारी बगर र धुञ्चे क्षेत्रमा स्वास्थ्य उपचारको व्यवस्था तथा शान्तिसुरक्षासहित अन्य अत्यावश्यकीय सामग्रीको प्रबन्ध गरिएको छ।

गोसाइँकुण्डमा हिमालय उद्धार संघ, पञ्चधाम समिति, काठमाडौंस्थित ग्रिनसिटी अस्पताल र गोसाइँकुण्ड गाउँपालिका तथा अन्य संघस्थानहरूको समन्वयमा रसुवा जिल्ला अस्पतालसहित जिल्ला आयुर्वेदिक औषधालय, नेपाली सेनाले यात्रुलाई सहज उपचार दिने व्यवस्था गरेका छन्।

यसैबीच रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तीर्थयात्रुको सुरक्षाका लागि बेत्रावतीबाट गोसाइँकुण्डसम्म ठाउँठाउँमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क भई तीर्थयात्रा गर्न सम्बद्ध सबैसँग अनुरोध गरेका छन्।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर मल्लले गोसाइँकुण्ड उच्चस्थानमा रहेकाले चिसो कुण्डमा स्नान गर्नेक्रममा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

अहिले वर्षा भइरहे पनि काठमाडौं र पृथ्वीराजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूली बजार हुँदै धुञ्चेसम्मको सडकमार्गमा कुनै अवरोध नभएको जिल्ला प्रहरी कार्यालयल जनाएको छ। धुञ्चेबाट करिब चार किलोमिटर पैदल बाटो आवश्यक मर्मतसहित सरसफाइ गरिएकाले ढुक्क भई मेला भर्न गोसाइँकुण्ड क्षेत्र विकास समितिले सबैसँग अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.