सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

डिसी नेपाल
२२ साउन २०८२ १६:५७
24
Shares

काठमाडौं । प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध र पयर्टन समितिले आज पशुपतिनाथ क्षेत्रको निरीक्षण तथा अनुगमन गरेको छ।

सभापति राजकिशोर यादवको नेतृत्वमा पुगेको समितिका पदाधिकारीको टोलीले पशुपति क्षेत्र विकास कोष तथा मन्दिर क्षेत्रको समग्र अवस्थाबारे अवलोकन गरेको हो। सो टोलीले मन्दिरका मुल पुजारी भट्टसँग पनि आवश्यक सल्लाह सुझावसहित छलफल गरेको थियो।

अवलोकनमा सांसदहरु उदय शम्शेर राणा, एकनाथ ढकाल, प्रेम सुवाल, नारायणप्रकाश साउद, दामोदर पौडेल वैरागी लगायतको सहभागिता रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। निरीक्षण टोलीले मन्दिर परिसरका पूर्वाधार, व्यवस्थापन, स्वच्छता तथा पर्यटनमैत्री वातावरणका विषयमा गहिरो चासो राख्नुका साथै समितिका पदाधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीबीच छलफलसमेत भएको कोषका निमित्त सदस्यसचिव शुभाषचन्द्र जोशीले जानकारी दिए।

उनले भने, “समितिले पशुपति क्षेत्रमा विद्यमान समस्याका बारेमा प्रत्यक्ष जानकारी लिएको छ, पदाधिकारीले यहाँका समस्या अवलोकन गर्नुभयो र समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ।”

छलफलका क्रमममा पशुपति क्षेत्र विकास कोषले कोषको विकास, धार्मिक पर्यटकको सुविधा, सुरक्षा व्यवस्थापन र पूर्वाधार सुदृढीकरणका विषयमा विशेष ध्यान दिनुपर्ने औँल्याइएको तथा यहाँका समस्याको समाधानका लागि राज्यका तर्फबाट थप सहयोग आवश्यक रहेको धारणा राखिएको थियो।

निरीक्षण पश्चात् समितिले निकट भविष्यमा पशुपति क्षेत्रको सुधार तथा विकासका लागि आवश्यक निर्देशन र सिफारिस गर्ने प्रतिबद्धता जनाएको समितिका सभापति यादवले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.