हार नखाइकन संघर्ष गर्नुपर्छ, एकदिन सफलतामा पुगिन्छ: प्रधानमन्त्री ओली

डिसी नेपाल
२६ साउन २०८२ २१:२५
92
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।

अनलाइनखबर डटकमद्वारा आज आयोजित ‘चालीस मुनिका चालीस’ युवालाई सम्मान कार्यक्रममा उनले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तीव्रताका साथ सम्पन्नता हासिल गर्ने र मानवीय गुणवत्तामा पनि अग्रता लिने विश्वास व्यक्त गरे।

‘युवाले आफ्नो रुचि र प्रतिभालाई चिन्न सक्नुपर्छ। संघर्ष गर्नुपरे पनि हार नखाइकन काम गर्नुपर्छ। एकदिन सफलतामा पुगिन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘दुनियाँमा मान्छेहरूले नयाँ नयाँ सुरुआत युवा अवस्थामै गरेका छन्। त्यसपछि क्रमशः आफ्नो क्षेत्रमा श्रेष्ठता हासिल गर्दै गएका छन् । सामाजिक जीवनका सबै क्षेत्रमा हामीलाई प्रतिभा चाहिन्छ। धेरै योग्य युवामध्येबाट छानिएका तपाईंहरूको भविष्य अझ ठूल्ठूला सफलता प्राप्तितर्फ अगाडि बढ्दै जाओस्।’

प्रधानमन्त्री ओलीले प्राकृतिक रूपमा उर्बर र ज्ञानभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण नभए पनि पछाडि पर्न गएकामा अब समृद्धिका लागि सबै मिलेर केही गर्ने समय आएको बताए। उनले भने, ‘म केही गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ। निराशाको बादल छाडेर उत्साह र आशामा लागेका युवाहरू छनोट गर्नु निकै कठिन काम हो। म तपाईंहरूलाई बधाई भन्न चाहान्छु। मेरो भनाइ यति हो, युवाले आफूभित्र घमण्ड पस्न दिनुहुँदैन। हरेक मान्छेले आफ्नो आचरण, महेनत र सम्भावनालाई पहिल्याउनुपर्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *