लाप्राकमा भद्रा मारेर खुशियाली मनाइयो

डिसी नेपाल
२ भदौ २०८२ २२:३३
172
Shares

गोरखा। गुरुङहरूको मात्र बसोबास रहेको उत्तरी गोरखाको लाप्राकका बासिन्दाले हरेक वर्षजस्तै यस वर्ष पनि हिउँद लागेकामा भद्रा मारेर खुशियाली मनाएका छन्। धार्चे चार लाप्राकका बासिन्दाले एक ठाउँमा भेला भई काँक्रोलाई भद्राको स्वरुप बनाइ बलि चढाएर उत्सव मनाएका हुन्। यहाँ एक ठाउँमा ७०० घर रहेका छन्।

लाप्राक घाँटु समिति तथा तमु प्ले ल्हु संघ लाप्राकका अध्यक्ष बिसबहादुर गुरुङले यहाँ भदौ लागेपछि बर्खा सकिएर हिउँद लाग्यो भनेर खुशियाली मनाउने पुरानो चलन रहेको बताए। उनले भने, ‘काँक्रोमा सिङ, पुच्छर, खुट्टा जोडेर राक्षसको स्वरुप बनाउँछौँ। अनि त्यसलाई खुकुरीले मार हानेर बलि चढाउँछौँ । त्यसैलाई भद्राको प्रसाद भनेर गाउँले बाँडेर खान्छौँ।’

सोही अवसरमा लाप्राक गाउँका संस्थापक खम्बो र पैसापको पूजाआजा गरिएको अध्यक्ष गुरुङले जानकारी दिए। खम्बो र पैसापले आठसय वर्षअघि लाप्राक गाउँ स्थापना गरेको जनश्रुती छ।

बर्खा यामभरि जेजस्ता दुःख र सास्ती खेप्नु परे पनि हिउँदयाम सुखद होस् भनेर पर्व मनाउने चलन रहेको जानकारहरू बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.