बुटिकहरुमा छैन् व्यापार, अनिवार्य बनिसक्यो अनलाइन मार्केटिङ

डिसी नेपाल
१० भदौ २०८२ १२:३३
60
Shares

काठमाडौं। बजारमा तीजको रौनक बढेपनि राजधानीका साडी पसल तथा बुटिकहरूमा चहलपहल न्यून छ। तीज भित्रिसक्दा पनि पसलहरुमा चहलपहल कम हुँदा साडी पसल तथा बुटिक सञ्चालकहरू चिन्तित छन्।

पछिल्लो समय तीजका लागि बजारमा पाइने रेडी-मेड ड्रेस र अनलाइन शपिङले बुटिकहरूको व्यापार खस्केको बुटिक सञ्चालकहरू बताउँछन्।
बुटिकहरूमा विषेशत डिजाइनर कुर्ता, प्रिन्ट भएका साडी र मोडर्न लेहेंगाहरु एवम नेपाली परम्परागत पहिरनलाई आधुनिक शैलीमा ढालेर नयाँ डिजाइनर ड्रेस बनाइन्छ। तर बजारमा बढ्दो प्रतिस्पर्धा र अनलाइन पसलहरूको प्रभावले बुटिकहरू सञ्चालन गर्न गाह्रो भएको द दिभा फेसन बुटिककी सञ्चालक रोशनी बराइलीले बताइन्।

‘यस वर्ष मार्केट अलि कम हुन्छ कि ? अनलाइन बिजनेसहरु बढी भएको कारणले मार्केट अलि डाउन डाउन नै छ,’ उनले भनिन्।
बुटिकमा ब्लाउजदेखि कुर्था, लेहेंगा वा ब्लाउजका डिजाइन गरिन्छ। ह्यान्डवर्कमार्फत बुटिकका कपडाहरु तयार गरिने साथै बाहिरको रेडिमेड भन्दा गुणस्तरीय कपडा पाइने भएकाले ग्राहकहरुको रोजाइमा बुटिक पर्ने गरेको सञ्चालक बराइली बताउँछिन्।

उनले भने, ‘बाहिरका पसलमा रेडीमेड कपडा पाइन्छ। त्यो मेसिनवर्क भयो। तर हामीले गर्ने भनेको कालीगढको सहायतामा हातले बनाउने हो। ह्यान्डवर्क गरेका पिसहरु हातले भरेर आकर्षक बनाउछौं। अनलाइनबाट विक्री गर्ने भनेको मेसिनले भरेका हुन्। त्यो अलि सस्तो हुन्छ। हामीले भरेकोमा अलिक बढी चार्ज लाग्छ।’

होलसेल पसल र ठुला शोरुमहरुले नै रेडिमेड सामान बेच्दा आफूहरु मारमा परेको बराइलीको गुनासो छ।

‘शोरुमहरु जहाँबाट हामीले होलसेल सामान ल्याउँछौ उनीहरुले पनि मार्केट बिगारेछन्। उनीहरुले आफैं होलसेलमा रेडिमेड बेचिदिन्छन्। होलसेलले त बेच्न नमिल्ने होइन तर त्यसले मार्केट बिग्रेको छ,’ उनले भनिन्, ‘धेरैलाई गाह्रो बनाएको छ। हामीलाई मात्र होइन, धेरैलाई गाह्रो बनाएको छ।’

यस्तै २५ वर्षदेखि सञ्चालनमा रहेको सानिया बुटिकको पनि समस्या उस्तै छ। भदौँ लागेसँगै भ्याइनभ्याइ हुने कुनै समय अहिले सिजनमा पनि काम नआउँदा चिन्तित रहेको सानिया बुटिकका जावेद अन्सारी बताउँछन्।

‘पहिला त सामान्य चलिरहेको थियो, अहिले व्यापार छैन। तीजको बेलामा पनि काम आइरहेको छैन्। यसको एउटै कारण छ, रेडिमेडहरुको कारण हो। रेडिमेडहरु धेरै आइरहेका छन् र सस्तो मूल्यका छन्। त्यसले हामीलाई असर गरेको छ,’ उनले भने।

सानियामा अहिले कुर्ताहरुको मात्र माग आइरहेको भन्दै चार–पाँच वर्ष पहिले तीज आउँदा दुई महिना अघि नै रातभरी काम गरेको अन्सारी सम्झिन्छन्।
उनले भने, ‘चार–पाँच वर्षपछि हामी दुई महिनादेखि फुर्सदजस्तै छौं। हाम्रो अहिले कामै छैन। काम आएको छैन अहिलेसम्म।’

अन्सारीले पछिल्लो समय धेरै बुटिकहरु बन्द भएको भन्दै अहिले टेलर मात्रै चलेको बताए।

अन्सारीको सानिया बुटिकमा आजभोलि साडी भन्दा बढी कुर्ताहरुको माग बढेको छ। तीज जस्तो विशेष पर्वमा डिजाइनर कुर्ताको प्रयोग बढेको अन्सारी बताउँछन्।

‘अहिले कर्सेट कुर्ताहरु आइरहेको छ। अहिले कुर्ताहरुको रेट ४५ सयदेखि सुरु हुन्छ। हाम्रोमा सिलाइको तरिका फरक छ। फिनिसिङ राम्रो हुन्छ। ग्राहकहरु फिनिसिङको कामले खुशी हुन्छन्,’ उनले भने।

अन्सारी बुटिकमा आएका ग्राहक प्राय सबै उस्तै हुने र राम्रो काम गर्दा जति भन्यो त्यति मूल्य तिर्ने पनि बताए।

यस्तै बराइलीले समय अनुसार चल्नैको लागि आफूले पनि अनलाइनमार्फत प्रचार सुरु गरेको बताइन्। उनले आफ्नो सामान जापान, अमेरिकालगायतका केही देशहरुमा समेत जाने भन्दै सामाजिक सञ्जालमा प्रचार गर्न सके काम गर्न सकिने बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.