गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो, ठाउँठाउँमा वर्षा
फाइल तस्बिर
काठमाडौं। काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती नदी बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउने सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ।
पछिल्लो तीन घण्टामा झापा जिल्लास्थित शनिश्चरे वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको पनि महाशाखाले जानकारी दिएको छ। सो क्षेत्र भई बहने ससाना नदीहरूमा आकस्मिक बहाव बढ्नसक्ने चेतावनी समेत दिइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नदेखि नै काठमाडौं उपत्यकालगायत केही जिल्लामा भारी वर्षा भएको छ र उपत्यकामा अहिले राति पनि वर्षा जारी छ।
पछिल्लो तीन घण्टामा काठमाडौंमा ३४ मिलिमिटर र छ घण्टामा ६१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी झापामा तीन घण्टामै ५४ मिलिमिटर वर्षा भएको छ। झापामा पछिल्लो छ घण्टामा १०३ मिलिमिटर वर्षा भएको छ।
नुवाकोटमा पछिल्लो तीन घण्टामा ४० दशमलव ८ मिलिमिटर वर्षा भएको छ। सिन्धुपाल्चोक, सिन्धुली, गुल्मी, लमजुङ, धादिङ, बारालगायत जिल्लामा पनि मध्याम वर्षा भएको विभागले जनाएको छ।
महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ। कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम देशभर नै बदली रहेको बताए।







डिसी नेपाल







Facebook Comment