सङ्खुवासभामा ५५ जना क्षमताको कारागारमा १३९ कैदीबन्दी

डिसी नेपाल
२० भदौ २०८२ १८:२२
8
Shares

किमाथांका (सङ्खुवासभा) सङ्खुवासभामा ५५ जना क्षमता भएको जिल्ला कारागार खाँदबारीमा एक सय ३९ कैदीबन्दी राखिएको छ। जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा दैनिक क्रियाकलाप सञ्चालनमा समस्या भइरहेको छ।

यहाँ एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिका रहेका कारागारका प्रमुख जेलर राजन घिमिरेले जानकारी दिए। क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी भएकाले खानेपानी, सरसफाइलगायत दैनिक क्रियाकलाप सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ।

जेलर घिमिरेका अनुसार यो कारागारमा ५० पुरुष र पाँच जना महिलाको क्षमता रहेको छ। कारागार तीन दशमलव पाँच रोपनी क्षेत्रफल फैलिएको बताउँदै उनले जग्गा प्रयाप्त नहुँदा थप भवन निर्माण गर्न नसकिएको धारणा राखे।

‘क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी भएकाले खान, बस्न, शौचालय, सरसफाइलगायत गतिविधिमा समस्या हुँदै आएको छ। पुरानो र साँगुरो भवन भएकाले दैनिक जीवनयापनमा समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ’, उनले भने।

कैदीबन्दीहरू कारागारमा पुगेपछि मानवीय व्यवहार पाउनुपर्ने भए पनि त्यस अनुरूपको सुविधा दिन नसकिएको जेलर घिमिरेको भनाइ छ। ‘कैदी सङ्ख्याका आधारमा पर्याप्त ठाउँ छैन। कारागारमा आपत्कालीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन छ। कारागारमाथि बजार, तलतिर भिरालो र व्यक्तिको जमिन भएकाले सडक पुयाउन सकिएको छैन’, उनले भने।

कारागार जाने माथितर्फ सानो भिरालो सिडी (भर्‍याङ) ओर्लिएपछि यहाँ पुग्न सकिने घिमिरेले उल्लेख गरे। कुनै विपद् भएर कैदीबन्दीलाई तत्काल उद्धार गुर्नपरेमा एम्बुलेन्स, दमकल वा सुरक्षा निकायका गाडी पुग्नसक्ने सडक नभएको उनले बताए। कारागारको सुधार तथा क्षमता वृद्धि गर्नका लागि सरोकार भएका निकायलाई पटकपटक अनुरोध गरे पनि हालसम्म सुनुवाइ नभएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.