‘औद्योगिक क्रान्तिका लागि समाजवादको खाँचो छ’

डिसी नेपाल
२१ भदौ २०८२ १९:५४
12
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा आर्थिक तथा सामाजिक रूपान्तरणका लागि औद्योगिक क्रान्ति गर्न समाजवादको खाँचो रहेको बताएका छन्।

पार्टी निकट नेपाल स्वतन्त्र सडक व्यापार संगठनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा गरिबी, पछौटेपन, विभेद्को अन्त्य गरी आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना भएको उल्लेख गरे। उनले समाजवादबाट मात्रै औद्योगिक क्रान्ति सफल हुने धारणा राखे।

अहिले कम्युनिष्ट पार्टी नीति तथा सिद्धान्त विहीन भएकाले नेताको आदर्श र जीवनशैलीमा विचलन देखापरेको बताउँदै नेता खनालले राजनीतिमा विकृति र विसंगति देखिएकाले त्यसलाई सुधार्न विभिन्न वामपन्थी शक्तिलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए।

लिपुलेकका विषयमा सरकारले भारतसँग कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय छलफल गर्नुपर्ने बताउँदै उनले राष्ट्रियताको सवालमा सबै दलको साझा सहमति हुन जरुरी रहेकामा जोड दिए।

मानसरोवर जोड्ने भूमि लिपुलेक नेपालको भएको ऐतिहासिक तथ्य र आधारहरू रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणका क्रममा उक्त विषयमा प्रष्ट धारणा राख्ने नेता खनालले विश्वास व्यक्त गरे। उनले राष्ट्र र राष्ट्रियताका विषयमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *