दाजुभाइको झगडाले आमाको ज्यान गयो

डिसी नेपाल
२२ भदौ २०७६ ८:२१

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ। हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आफु चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो।

बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट मच्चाउँदा घाइते भएपछि छोराहरु लिएर अस्पताल आउँदै गरेकी ५० वर्षीया आमा तारा वादीको बाटोमै आफु चढेको एम्बुलेन्स पल्टँदा मृत्यु भएको हो।

बा२च ४४४१ नंको एम्बुलेन्स शनिबार साँझ ८ बजेतिर विपी राजमार्गको बर्दिवास–३ गौरीडाँडामा पल्टिदा पैदलयात्री छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–४ का २१ वर्षीय रोशन बराइली, मृतकका दुवै छोरा र एम्बुलेन्स चालक बर्दिवास–३ का चित्रबहादुर बुढाथोकी घाइते भएका छन्।

घटनालगत्तै प्रहरीले उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्याउनासाथै तारा वादीलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। घाइतेमध्ये पैदलयात्री रसाइलीको दाँया खुट्टा भाँच्चिएको, चालक बुढाथोकीको अनुहारमा चोट लागेको र दुवै दाजुभाइ वादीका हातगोडामा सामान्य चोट लागेको छ।

घाइते सबैको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोककुमार साहले जानकारी दिए। चालक को प्रहरी निगरानीमा उपचार भइरहेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *