हेटौंडामा जेन-जी पुस्ताको शान्तिपूर्ण प्रदर्शन
हेटौंडा। भ्रष्टाचार, असमानता र प्रशासनिक दुरुपयोगको विरोधमा जेनजी पुस्ताले सोमबार हेटौंडामा शान्तिपूर्ण प्रदर्शन गरेको छ।
बिहानैदेखि उपमहानगरपालिका परिसरबाट सुरु भएको जुलुस सानो पोखरा, बुद्धचोक हुँदै उपमहानगर रोडसम्म अघि बढेको थियो। सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर शान्तिपूर्ण उपस्थिति जनाएका थिए।
प्रदेश सभा भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीको अवरोध भएपछि केहीबेर तनाब सिर्जना भएको थियो। प्रदर्शनकारीहरूले आफूहरूलाई रोक्न खोज्नु शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप भएको आरोप लगाएका छन्।
आयोजकका संयोजक दिक्षान्स खड्काका अनुसार यो आन्दोलन कुनै राजनीतिक दलसँग सम्बन्धित नभई नयाँ पुस्ताले ‘इमानदारिता, पारदर्शिता र जवाफदेहीतामा अभ्यास गर्दै उदाहरण प्रस्तुत गर्ने’ उद्देश्यले गरिएको हो।
उनका भनाइमा भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि यो पुस्ता निरन्तर सडकमा उत्रिनेछ। यसैबीच, मकवानपुर प्रहरीले भने सुरक्षाका कारण प्रदेश सभा भवनभित्र प्रवेशमा रोक लगाइएको र स्थिति नियन्त्रणमै रहेको जानकारी दिएको छ।
प्रदर्शनपछि जेन-जी पुस्ताले आन्दोलनलाई अझ व्यापक बनाउने घोषणा गर्दै सबै नागरिकलाई आवाज उठाउन आह्वान गरेको छ।







डिसी नेपाल







Facebook Comment