सरकारकै कमजोरीले बग्यो ‘रगतको खोलो’, अस्पतालभित्रै जेनजीमाथि बर्साइयो अश्रुग्यास
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्र आज रणमैदानमा परिणत भएको छ। जेनजीको प्रदर्शन उग्र बन्दा प्रहरीले चलाएको गोली र अश्रुग्यासको बर्साले नयाँ बानेश्वर क्षेत्र रणमैदानमा परिणत भएको हो।
सरकारले नेपालमा दर्ता नभएका समाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध जेनजी पुस्ता आन्दोलित बनेका थिए। उनीहरू माइतीघर मण्डलाबाट मध्यान्न पौने १२ बजेतिर नयाँ बानेश्वर क्षेत्रमा पुगे।
आक्रोसित युवाको भिड नयाँ बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गर्यो। स्थिति उग्र बन्दा प्रहरीले गोली चलायो। थुप्रै विद्यार्थी गोली लागेर ठाउँको ठाउँ ढले।
स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि कर्फ्यू जारी गर्यो। कर्फ्यू जारी भए पनि युवाहरू आन्दोलनबाट पछि हटेनन्।
सरकारले सेना नै परिचालन गर्नुपर्ने अवस्था सिर्जना भयो। र, प्रहरीले निरन्तर अश्रु ग्याससँगै गोलीको वर्षा गर्न थाल्यो।
प्रहरी रिपोर्टअनुसार हालसम्म १७ जेनजी युवाले ज्यान गुमाइसकेका छन्। काठमाडौंका विभिन्न अस्पतालमा २ सय ५६ घाइतेको उपचार जारी छ। घाइतेको उद्धार जारी रहेकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको र १०० जना घाइते उपचाररत छन्। सिभिलबाट १५ जना गम्भीर घाइतेलाई ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर गरिएको छ। वीरमा ६ जनाको उपचार भइरहेको छ।
ट्रमा सेन्टरमा ८ जनाले उपचारको क्रममा ज्यान गुमाउँदा ४९ जना घाइते उपचारत छन्। एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु हुँदा ३४ घाइते उपचारत छन्। एभरेष्ट अस्पतालमा उपचाररत सात जनाको अस्था गम्भीर छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना घाइते उपचार भइरहेको छ। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केमएसी)मा दुई जनाको मृत्यु हुँदा ३२ घाइते उपचाररत छन्। घाइते मध्ये ६ को अवस्था गम्भीर छ। त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ। त्यहाँ १८ घाइते उपचारत छन्।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना घाइते उपचारत छन्। इटहरीमा समेत प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ।
यसरी घाइतेहरूले काठमाडौंका अस्पताल खचाखच भरिएका छन्। नयाँ बानेश्वरस्थित सिभिल अस्पताल त झन आज दिनभर तनावग्रस्त नै देखियो।
नजिकको अस्पताल भएका कारण गोली लागेकाहरूलाई प्रदर्शनकारीहरूले अस्पताल ओसारी रहेको कारुणिक दृश्य देखिन्थ्यो। अस्पतालको इमर्जेन्सी कक्ष र बेड भरिभराउ थिए। कतिपय बिरामीको भूइमै उपचार गर्नुपर्ने स्थिति थियो।
यहीबीच प्रहरीले अस्पतालमै प्रवेस गरेर अश्रु ग्यास प्रहार गरेको आरोप लागेको छ। प्रहरीले अस्पतालको कम्पाउन्ड भित्रको चौरमा बसेकाहरूलाई समेत लक्षित गरेर अश्रु ग्यास प्रहार गरेको बताइएको छ। सरकारको कमजोरीका कारण यो अवस्था आएको भन्दै सामाजिक सञ्जालमा विरोध हुन थालेको छ।







डिसी नेपाल







Facebook Comment