जेनजी प्रदर्शन

स्वतन्त्र र उच्चस्तरीय न्यायिक छानबिन गर्न माओवादी केन्द्रको माग

डिसी नेपाल
२४ भदौ २०८२ ६:५७
152
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारीको आकस्मिक बैठकले जेनजी युवाको प्रदर्शनका क्रममा सोमबार भएको घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गर्न आयोग गठनगरी दोषीहरूलाई कडा कारबाही गर्न माग गरेको छ।

सो पार्टीको जनजागरण अभियान स्थगन गरी काठमाडौं फर्किएर सोमबार साँझ अबेर बसेको बैठकले हाल देशमा विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनले भने, “भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति जेनजी पुस्ताको मागलाई हामीले सम्मान गर्नुपर्छ। त्यसैले आन्दोलनलाई शान्तिपूर्ण र संयमित रूपमा सञ्चालन गर्न आह्वान गर्दछौं।”

केन्द्रले सोमबारको प्रदर्शनका क्रममा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गरेको छ। माओवादी केन्द्रले प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्न तथा मंगलबार साँझ ५ बजे देशभरका सबै स्थानीय तहमा श्रद्धाञ्जलीसभा आयोजना गर्न आग्रह गरेको छ।

देशभक्त र परिवर्तनका पक्षधर लोकतान्त्रिक शक्तिसँग संवाद गर्दै एकताबद्ध भई समस्याको समाधान गर्न बैठकले आह्वान गरेको उनले उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *