विराटनगरमा जेनजी : प्रदेशसभा भवन र एमाले कार्यालयमा आगजनी
विराटनगर। जेनजी पुस्ताले चर्काएको आन्दोलन मंगलबार बिहानैदेखि उग्र बन्दै गएपछि विराटनगरको अवस्था तनावग्रस्त बनेको छ। आक्रोशित प्रदर्शनकारीहरूले कोशी प्रदेशसभा सचिवालयमा प्रवेश गरी तोडफोड गरेका छन्।
करीब तीन घण्टादेखि आन्दोलनकारीलाई रोक्ने सुरक्षाकर्मीको प्रयास असफल भएपछि पूर्व र पश्चिम दुवैतर्फबाट धकेल्दै आएका प्रदर्शनकारीले सचिवालयको मुख्य गेट तोडफोड गर्दै भवनभित्र प्रवेश गरेका हुन्।
यस क्रममा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेर भीडलाई रोक्न खोजेपनि सफल भएनन्। आन्दोलनकारीहरूले ब्यारिकेट समेत जलाएका थिए। अहिले प्रदेशसभाभित्र तोडफोड जारी छ भने परिसर अत्यन्तै तनावग्रस्त बनेको छ।
यसैबीच, नेकपा (एमाले) मोरङको पाञ्चालीस्थित पार्टी कार्यालयमा समेत आन्दोलनकारीले आगजनी गरेका छन्। कार्यालयमा प्रवेश गरेका युवाहरूले सामान तोडफोड गर्दै आगो लगाएका हुन्। प्रहरीका अनुसार कार्यालय नियन्त्रणमा लिन प्रयास भइरहेको छ।
यता, विराटनगरकै तीनपैनीस्थित प्रहरी बिटमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। आगजनी हुने समयमा प्रहरी नभएकोले ठूलो क्षति भएको अनुमान गरिएको छ। निरन्तर चर्किँदो आन्दोलनका कारण विराटनगरको विभिन्न क्षेत्र तनावग्रस्त बनेका छन्।







डिसी नेपाल







Facebook Comment