विभिन्न पिँढीहरू बारेको चर्चा
दोस्रो विश्वयुद्ध पछिदेखि आजसम्मको समयमा पुग्दासम्म विश्वमा झण्डै आधा दर्जन थरी नयाँ पिँढीहरूको जन्म भइसकेको छ। औसत प्रत्येक २५ वर्षमा एउटा पिँढीको युग हुने मान्यता विश्वभरमा नै छ।
मान्छे जन्मेदेखि हुर्केर वयस्क भई बच्चा जन्माउन थालेको समयसम्मलाई एउटा पिँढीको रूपमा लिइन्छ। बालविवाह गर्ने पुरातन मान्यता भएका मुलुकमा एक पिँढीको औसत समयावधी १५ वर्षको मात्र पनि हुने गर्दथ्यो भने आजको युगमा यस्तो अवधि औसतन २५ वर्षको भएको छ।
यो हिसाबले दोस्रो विश्वयुद्ध पश्चात् तीन पिँढीले जीवनको अनुभव लिइसकेको हुने हिसाब निस्के पनि यस्तो पिँढीगत अन्तराललाई शिक्षा, सामाजिक परिवेश, आधुनिकीकरण, शहरीकरण, प्रविधि, आर्थिक समुन्नति, समृद्धि, राज्यको जनसंख्या नीति, विश्वव्यापिकरण तथा विश्व घटनाक्रमसँग पनि जोडेर हेर्ने चलन छ। यो
हिसाबले विकसित मुलुकमा एक पिँढीको औषत अवधि २५-३० वर्षको हुन सक्छ भने कम विकसित मुलुकमा २० वर्ष वा सोभन्दा मुनि पनि हुन सक्छ। समग्रमा सन् १९४५ देखि सन् २०२५ सम्मको समय अन्तरालमा करिव चार पुस्ता भएको मानिन्छ।
मानिसको उत्पत्तिदेखि नै यस्तो पिँढीगत प्रक्रियाको शुरुवात भएको भए पनि विश्वमा १८औँ शताव्दितिरदेखि भने यसको नामांकन र पहिचान गर्ने चलन चल्न थालेको हो।
यही बेलादेखि खासगरी पश्चिमा मुलुकहरूमा सामयिक र सामाजिक परिवर्तनको कारण मानिसको सोचमा पनि परिवर्तन आउन थाल्छ भन्ने मान्यताबाट नवयुवाहरूको विभिन्न युगको परिकल्पना गर्न थालियो।
यही क्रममा १९औँ शताव्दिदेखि भने पश्चिमा विश्वले पिँढीगत युगको परिभाषासहित नामाकरण गर्न थाल्यो। त्यतिबेलाको विश्व समाजमा आर्थिक र सामाजिक परिवर्तन छिटो छिटो हुन शुरू भए पछि घरपरिवारमा पनि अर्थोपार्जन र शिक्षाको निम्ति अलग हुँदै जाने प्रवृत्ति बढ्न शुरू भयो भने बाउबाजेबाट प्राप्त हुने शीप र शिक्षालाई अँगाल्ने वा नविन शिक्षा र प्रविधिको आगमनले गर्दा समाजमा आएका नयाँ शीपहरूपट्टि आकर्षित हुने भन्ने कुराले पनि नयाँ पिँढीलाई अग्रजहरूबाट फरक दिशामा लैजान थाल्यो। यसरी पिँढीगत अन्तराल यानी जेनेरेशन ग्यापको विकास हुन थाल्यो।
विश्वमा सूचना तथा प्रविधिको विकास तथा आर्थिक, सामाजिक र राजनीतिक विचारहरूको वहावमा वृद्धि हुन थालेपछि विश्वभरको सामाजिक बनोट र रहनसहनमा पनि एकरुपता आउन थाल्यो। यस्ता परिवर्तनहरूले पिँढीगत सोचलाई पनि बदल्न थाल्यो। नयाँ नयाँ पिँढीका मानिसहरूको सोच र काम गर्ने तौर-तरिकामा पनि भिन्नता आउन थाल्यो, जसले गर्दा अघिल्लो र नयाँ पुस्ता बीच एक प्रकारको मानसिक द्वन्द्वको शुरुवात हुन पुग्यो।
अघिल्ला पुस्ता शारीरिक हिसाबले रुग्ण हुँदै गए पनि आफूमा व्यापक अनुभव भएकोले आफ्नो पुस्ता अव्वल हो भन्ने दम्भ राख्छन् भने नयाँ पुस्ताका युवाहरू आफूमा नयाँ विचार रहेको र जोश र जाँगर पनि बढी भएकोले पुराना पुस्ता अब काम नलाग्ने र यो युगलाई हाँक्ने जिम्मा आफ्नो काँधमा आएको ठान्दछन्।
१९औँ शताव्दिदेखि परिभाषित गर्न थालिएका पिँढीहरू बारे केही व्याख्या गरौँ हामी। सबै पिँढीमा असल र खराब व्यक्तिहरू हुन्छन् नै। तर यो आलेखमा विभिन्न पिँढीमा विद्यमान आर्थिक, सामाजिक र वौद्धिक विकासको प्रभावमा परेर आफ्नो वृत्ति विकासमा लागेका मानिसहरू बारे विशेष उल्लेख गरिएको छ।
साइलेन्ट जेनेरेशन : यो समूहमा पर्ने मानिसहरू सन् १९२८ देखि सन् १९४५ सम्ममा जन्मिएका हुन्। यिनीहरूको जन्म हुँदा प्रथम विश्वयुद्ध सकिएर विश्वमा शान्ति छाउन नपाउँदै विश्वव्यापी मन्दी (ग्रेट डिप्रेशन) र दोस्रो विश्वयुद्धले गाँज्न शुरु भइसकेको थियो।
युद्धको साथै विश्वमा छुवाछुत र वर्णको आधारमा मानिसलाई छुट्याउने प्रथाले चरम रूप लिइरहेको बेला र विभिन्न युरोपेली मुलुकले विश्वभर साम्राज्यवाद फैलाइरहेको बेलामा जन्मिएको यो पिँढीले निकै असहज परिस्थितिको सामना गर्नु पर्यो। दोस्रो विश्वयुद्ध पछिको पुनर्निर्माण र शीतयुद्ध तथा पुँजिवाद र समाजवाद बीचको द्वन्द्वको पनि साक्षी बन्न पुगेको यो पिँढीले विश्वलाई नयाँ मोडमा लग्न निकै मेहनत गरेको थियो। यही पिँढीको सन्तानको रूपमा भाग्यमानी बेबी बुमर्सहरू जन्मिएका हुन्।
बेबी बुमर्स : यो समूहमा पर्ने मानिसहरू सन् १९४६ देखि सन् १९६४ सम्ममा जन्मिएका हुन्। दोस्रो विश्वयुद्धले जर्जर भएको युरोपमा युद्धभर बच्चा जन्माउने र हुर्काउने कुरा निकै कठिन थियो।
विश्वयुद्धको दौरान विश्वमा लाखौं मानिसहरूको मृत्यु लडाइँको मैदान र घरघरमा भएको थियो। त्यो कहाली लाग्दो क्षणबाट मुक्ति पाएपछि भने खासगरी युद्धग्रस्त मुलुकका परिवारहरूले निस्फिक्री भएर बच्चा जन्माउन थाले। एउटै परिवारमा चार-पाँच वा सो भन्दा पनि बढी बच्चा जन्मन थाले।
त्यसैले यो अवधिमा बच्चाहरूको उत्पादनमा ठूलो वृद्धि भएकोले त्यो पिँढीलाई बेबी बुमर्स भनिएको हो। शुरूका बेबी बुमर्सहरू आज वृद्धावस्थामा छन् र अवकासको जीवन बिताइरहेका छन् र उनको निम्ति राज्यले पेन्सन र अन्य भत्ता तथा सुविधा उपलब्ध गराइरहेको हुन्छ।
तर पनि उनीहरूको आवश्यकता समाजमा अनुभवी सल्लाहकार, गुरु तथा अगुवाको रूपमा रहिरहेको छ। बेबी बुमर्सहरू पुरातन मान्यताका हिमायती हुनुका साथै नैतिकतामा दृढ हुने गर्दछन्। उनीहरू विश्वयुद्ध सकिए लगत्तै जन्मिएकाले पुनर्निमाणको समयको अनुभव उनीहरूमा छ भने उनले आफ्नो युवावस्था र जीवनको अधिकतम समयमा राम्रो शिक्षा र रोजगारी पाउन सफल भएका थिए। त्यसैले उनीहरू आफूलाई निकै भाग्यमानी र सर्वोत्तम सम्झन्छन्।
जेनेरेसन एक्स : यो समूहमा पर्ने मानिसहरू सन् १९६५ देखि सन् १९८० सम्ममा जन्मिएका हुन्। बेबी बुमर्स पछिको यो पिँढीका धेरै सदस्यहरू साइलेन्ट जेनेरेसनका सन्तान हुन् भने यिनीबाट जन्मेका धेरै जसो बालबच्चा जेनेरेसन जेड यानी जेन जी हुन्।
जेन एक्स कै पालामा चन्द्रमाको सतहमा मानव जातिले पहिलो चोटी टेकेको थियो भने थुप्रै नयाँ प्रविधिको विकास भएको थियो। संगीतको कुरा गर्दा पप, पङ्क, हिपहप, हेभी मेटल, रक आदि विधाहरूको विकास तथा लोकप्रियता बढेको यही पिँढीको पालामा हो। युरोप र अमेरिकामा हिप्पी संस्कृतिले जरा गाडेकोले दक्षिण एशियाली मुलुकहरूमा आफ्नो प्रभाव पारेको पनि यही अवधिमा हो।
विश्वमा कम्युनिज्मको प्रभाव अधिकतम मात्रामा परेको पनि बेबी बुमर्स र जेन एक्स पिँढीको पालामा नै हो र जेन एक्स कै पालामा विश्वबाट कम्युनिज्म हट्दै सुधारिएको पुँजिवाद र समाजवादमा रुपान्तरित हुन थाल्यो। जेन एक्स पिँढी पनि ठूलो अनुभव बटुलेर आज अवकासको संघारमा पुगेको छ।
जेनेरेसन वाई : यो समूहमा पर्ने मानिसहरू सन् १९८१ देखि सन् १९९६ सम्ममा जन्मिएका हुन्। यिनीहरूलाई ‘मिलेनियल्स’ भनेर पनि चिनिन्छ। नयाँ शताव्दिको शुरुवाती चरणमा जन्मिएका भएर पनि यो पुस्तालाई मिलेनियल्स भनिएको हो।
यही पिँढीको पालामा शीतयुद्धको अन्त भएसँगै विश्वमा खुला अर्थतन्त्र र विश्वव्यापिकरणको सिद्धान्तले मूर्तरूप लिन थालेको हो। विश्वमा सञ्चार क्षेत्र र विज्ञान तथा प्रविधिले ठूलो फड्को मारेको बेलामा जन्मिएका यो पिँढीका सदस्यहरू प्रविधिमैत्री हुन्छन् भने आजको विश्वलाई जेन एक्स पछि यही पिँढीले हाँकीरहेको छ।
जेनेरेसन जेड : यो समूहमा पर्ने मानिसहरू सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मिएका हुन्। यो समूहलाई ‘जेन जी’ भनेर पनि चिनिन्छ। आजका जल्दा बल्दा अधिकांश युवा तथा भर्खरका बालकहरू यो पिँढीमा पर्दछन्। जेन जी आफ्नो स्वास्थ्य प्रति सजग हुन्छन् तथा डिजिटल प्रविधिसँग ज्यादै निकट र परिचित हुन्छन्।
उनीहरू सानै उमेरदेखि उद्यमशीलतामा लाग्न चाहने खालका हुन्छन् तथा सफलताको निम्ति आतुर र खुला मनका हुन्छन्। त्यसैले उनीहरू आफुभन्दा पहिलेका पुस्ता भन्दा फरक पनि छन्।
विज्ञान तथा प्रविधिले विशाल फड्को मारेको आजको युगमा जन्मिएका यो पिँढीका युवाहरू निकै प्रतिभाशाली, सुसूचित र मेहनतीमा गनिन्छन्। तर आजको बदलिँदो र निकै चलायमान तथा असुरक्षित विश्व परिवेशमा जेन जीलाई अघि बढ्न निकै संघर्ष गर्नु पर्ने अवस्थाको सिर्जना भएको छ।
हाम्रो जस्तो आर्थिक विकास कम भएको र फितलो प्रशासनिक संरचना तथा चरम भ्रष्टाचार हुने समाजमा जेन जीलाई आफ्नो वृत्ति विकासमा लाग्न निकै कठीन हुने गरेको छ। त्यसैले पुराना पिँढीको दाँजोमा बढी प्रतिभाशाली भएता पनि हाम्रो जस्तो मुलुकमा जेन जी निकै तनावमा रहन वाध्य छन्।
बेबी बुमर्सको पिँढी बारे कम जानकार तथा आजको अनिश्चित र नाजुक स्थितिमा पुगेको विश्व राजनीतिक परिवेशमा जन्मेका भएर जेन जीलाई ‘नव साइलेन्ट जेनेरेसन’ पनि भनिन्छ।
त्यस्तै सन् २०१० देखि सन् २०२४ सम्म जन्मेका जेन जी पछिका पुस्तालाई ‘जेनेरेसन अल्फा’ पनि भनिन्छ। अल्फा जेनेरेशनहरू भर्खरै जन्मेका बच्चाहरूदेखि १५ वर्ष पुगेका स्कुले केटाकेटीहरू हुन् र यिनीहरू आफु भन्दा अग्रज जेन जी भन्दा पनि भाग्यमानी र छरिता छन्।
आर्टिफिसियल इन्टेलिजेन्सले विश्वमा प्रभाव जमाउन थालेको भए पनि जेन जी र जेन अल्फाको विलक्षण प्रतिभाले गर्दा उनीहरूलाई आजसम्मका सबैभन्दा भाग्यशाली पुस्ताको रूपमा नै लिइन्छ।
सन् २०२५ देखि सन् २०३९ सम्म जन्मने पिँढीको नाम अहिले नै जेनेरेसन बेटा वा जेन बेटा भनेर राखिसकिएको छ। यो पुस्ताले आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल प्रविधिमा पुरै भिजेर काम गर्ने अनुमान गरिएको छ।
पछिल्लो समयमा नेपालका सबैजसा सरकारले चरम भ्रष्टाचार, नातावाद, कृपावादका साथै प्रजातन्त्रको नाममा जनतालाई दमन गर्ने, वाक स्वतन्त्रताको हनन गर्ने, कानुन र न्याय तथा प्रशासन पनि आफ्नै झोलेहरूद्वारा आफ्नो पक्षमा सञ्चालन गर्ने तथा अनाहक अन्धाधुन्द गोलीसम्म चलाएर जनता मार्न पनि नहिच्किचाउने काम गरेको र प्रमुख तीन दलहरू चटक्क मिलेर पालै पालो सरकार चलाउने र सामुहिक तवरले मुलुकको ढुकुटी खुलेआम रित्याउने, राज्यलाई चरम ऋणमा डुबाउने, विश्व रङ्गमञ्चमा नेपालको अति नै बेइज्जती गर्ने, केही समयको निम्ति सरकारमा बस्ने लोभमा विदेशी गुहार्ने र तिनको स्वार्थ सिद्ध गरिदिने, सदन कब्जा गर्ने तथा निर्लज्ज तवरले जनताको तौहिन गर्ने काम गरिरहेका थिए।
चरम बेरोजगारीको कारण नेपाली युवा विदेशीन वाध्य हुनु परेको छ भने नेताका छोराछोरीको तुजुक निकै बढेको छ।
जनताले विद्युत तथा अन्य महसुल तिरेनन् भने तत्काल लाइन काटिने तर उनीहरूलाई नजराना बुझाउने व्यापारीले अर्बौं बक्यौता राख्दा पनि लाइन नकाट्ने, ठेकेदारहरूसँग मिलोमतो गरेर ठूलो धनराशी कुम्लाउने, सून तथा अन्य वस्तु र मानव समेत तस्करी गर्ने, प्रमाण सहित पक्राउ परेका उनका झोले र नेताहरू सहजै उम्कने तथा इमान्दार र सक्षम कर्मचारीलाई हटाएर आफ्ना झोलेहरूलाई नियुक्ति दिने र उनीहरूसँग नजिक नभएका सच्चा वौद्धिक जनशक्तिलाई कुनै काम नदिएर वेरोजगार बनाउने जस्ता अनेकन कुकर्म गरेका थिए।
नेपालमा प्रजातन्त्र बहाली पछिको अधिक समय कम्युनिष्टहरूको शासन भए पनि विश्वमा नेपालका जस्ता भ्रष्ट र खर्बपति बनिसकेका कम्युनिष्ट भनाउँदा र अन्य नेताहरू कतै भेटिँदैनन्।
जनतामा चरम निराशा छाएको आजको समयमा नेपालका जेन जीले अप्रत्याशित रूपमा विशाल आन्दोलन गरेर भ्रष्टहरूको सत्ता पल्टाउन ठूलो भूमिका खेले। तर उनिहरूको आन्दोलनमा घुसपैठ गरेर प्रतिकृयावादीहरूले अति महत्वपूर्ण सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरेको कुरा पनि जनता माझ जगजाहेर भएको छ।
केही नयाँ तथा साना दलले जेन जीको आन्दोलनको सफलताको निम्ति नयाँ चुनाव गराउने बाटो प्रसस्त गर्न सांसद पदबाट राजिनामा पनि दिइसकेका छन् भने पुराना तथा ठूला दलहरू अन्तिम समयसम्म पनि टसमस भएका थिएनन्।
यस्तो अवस्थामा पुनः द्वन्द्वको अवस्था सिर्जना हुन गएर मुलुक धरासायी हुनुको साथै राष्ट्रको अस्तित्व नै मेटिन पनि बेर लाग्ने छैन।
नेपालमा प्रजातन्त्रको वहालीको निम्ति भएका सबैजसा जनआन्दोलनहरू आजका जेन जी जस्तै कलिला युवाहरूको सक्रिय सहभागिताले गर्दा नै सफल भएकाले आजका जेन जीलाई पनि हामीले महत्वका साथ हेर्नु पर्दछ।
किनकी भोलिको नेपालका हर्ताकर्ता यिनै जेन जी हुने छन् भने उनले पनि त्यस पछिका नयाँ पुस्तालाई आफ्नो काम हस्तान्तरण गर्दै जानेछन्। यसरी नै विश्व चल्ने गर्दछ।
आजको यस्तो विषम् अवस्थामा नयाँ-पुराना सबै दलका असल व्यक्ति र जेन जीले आआफ्ना कमी-कमजोरीलाई अब आइन्दा नदोहोरिने वचनका साथ निकै संयमतापूर्ण तवरले आपसी सहमतिका साथ चल्नु पर्नेछ।
आजको विश्वका कतिपय मुलुकहरूमा जेन जीका साथै निकै कलिला मिलेनियल युवाहरूले सफलतापूर्वक शासन गरिरहेका छन् भने नेपालका जेन जीले मात्र त्यसो गर्न सक्दैनन् भनेर सोच्नु निकै ठूलो भुल हुनेछ।
त्यसैले विश्वमा नै पहिलो पटक भएको जेन जीको विशाल आन्दोलनलाई सफल बनाउन मद्दत गरेर नेपालका सबै पक्षले उदारता दर्शाएर नेपाललाई नयाँ दिशातिर लम्काउने काममा उनीहरूलाई सघाउनु पर्दछ।
-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment