ताप्लेजुङमा लगाइएको कर्फ्यू जारी
फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको सदरमुकाम फुङ्लिङसहित आसपासको क्षेत्रमा लगाइएको कर्फ्यू आज पनि जारी छ। जेनजीको प्रदर्शनपछि देशमा सिर्जित विषम परिस्थितिका बीचमा हुनसक्ने सम्भावित हुलदङ्गा र अराजक गतिविधि रोक्न तथा शान्ति, सुरक्षा कायम राख्न बुधबारदेखि कर्फ्यू जारी भएको हो।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले आज सूचना प्रकाशित गर्दै बेलुका ७ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका छन्। सेढाईंद्वारा जारी सूचनाअनुसार शनिबार बिहान ६ बजेसम्म जिल्लाभर कर्फ्यू लागू हुनेछ।
पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा सङ्खुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र कर्फ्यू लागू हुने सूचनामा उल्लेख छ। कर्फ्यूको समयावधिभर कुनै पनि भेला, सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउलगायत गतिविधि गर्न नपाइने जारी सूचनामा उल्लेख गरिएको छ।
कर्फ्यूको अवधिमा एम्बुलेन्स, वारुणयन्त्र, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकाकर्मी र कूटनीतिक नियोगका व्यक्तिले भने आवतजावतका लागि सवारीसाधन प्रयोग गर्न पाउने छन्। उक्त सुविधाका लागि सेवासँग सम्बन्धित परिचयपत्र वा अन्य कागजात हुनुपर्ने प्रजिअ सेढाईंले जानकारी दिए। कर्फ्यूको उल्लंघन गरेमा कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ।







डिसी नेपाल







Facebook Comment