जेनजी आन्दोलन : घाइतेका आफन्त भन्छन्- हाम्रो भविष्यको खाँबो टुट्यो, बोल्ने कुनै शब्द छैन
काठमाडौं। जेनजी आन्दोलनका घाइतेहरूको काठमाडौंको सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ। २३ र २४ असोजमा भएको जेनजी आन्दोलनका क्रममा ५१ जनाले ज्यान गुमाइसकेका छन्। चिकित्सकका अनुसार उपचाररत केही घाइतेको अवस्था अझै गम्भीर छ।
अस्पतालको बेडमा घाइतेहरूलाई छेडेको गोलीको घाउँले भतभति पोलिरहेको छ। बाहिर उनीहरूका आफन्त भावबिह्वल बनेका छन्। आँखामा आँसु नै ओभाउन सकिरहेका छैनन्। आफन्त आफ्ना नानीबाबुको स्वास्थ्य लाभको कामना गर्दै भगवान पुकारि रहेका छन्।
शुक्रबार डिसी नेपालको टोली जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न विभिन्न अस्पताल पुगेको थियो। त्यसक्रममा सिभिल र ट्रमाको आइसीयू बाहिर बसिरहेका आफन्तको अनुहारमा चिन्ताको बादल मडारिएको प्रस्टै देखिन्थ्यो।
रुँदारुदै आँखा सुन्निएका थिए। रातदिन निद्रा हराएका आँखामा छटपटी र व्याकुलता मात्रै देखिन्थ्यो। बेला-बेला आँखा आइसीयू कक्षतर्फ चियाउन पुगिरहेका हुन्थे।
अस्पताल भित्रका घाइतेहरू पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई सरापिरहेका थिए। सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको र त्यसको विरुद्धमा युवाहरूले शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले विद्यार्थीमाथि गोली ठोकेको घाइतेहरूको आरोप छ।
रुपिन खड्का काठमाडौंको सिभिल अस्पतालमा उपचाररत छन्। उनको शरीमा प्रहरीका आठवटा गोली लागेका छन्। उनी भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवाका लागि आफूले गोली खाएकोमा पछुतो नलागेको तर देश समृद्ध हुनुपर्ने धारणा राख्छन्।
‘मैले आठ गोली खाए। देशमा नेताहरूले चरम भ्रष्टचार गरेका थिए। अन्यायको घडा भरिएको थियो। त्यो फुट्नु नै थियो। देशका लागि मेरो रगत बग्यो। त्यसमा पछुतो छैन। तर, हामी घाइते र मेरा द्विगम्वत साथीहरूको रगतले सिञ्चित नेपाल समृद्ध हुनुपर्छ। नेपालको राजनीति सही बाटोमा हिँड्नुपर्छ,’ उनले भने। देशका लागि मर्न नडराएर गोली थापेको उनको भनाइ छ।
सिभिलमै बिरामी कुरिरहेका एक आफन्तले आफ्नो पहिचान खोल्न चाहेनन्। तर, उनी आफ्ना सन्तानको निकै चिन्ता गरिरहेका थिए। ‘मेरो बाबुलाई सरकारले जीवनभरका लागि अपांग बनाइदियो। अब उसको भविश्य के हुन्छ?, उसलाई जीवनभर कसले हेर्छ? आँखामा उसको सपांग अनुहार मात्र नाचिरहन्छ,’ अस्पतालको छेवैको दुबोमा केही थोपा आँसु झार्दै उनले भने।
उनले छोरालाई सुन्दर भविश्य बनाउन काठमाडौं पठाएको भए पनि सरकारले गोली ठोकेको दुखेसो गरे। ‘हामी सामान्य परिवारका मान्छे हौं। जीवभरको कमाइ छोरामै लगाएका थियौं। बुढेसकालको भविश्य उसैमाथि देखेका थियौं। छोरोलाई सरकारी जागिरे बनाएर राष्ट्रको सेवा गर्न लगाउने ठूलो रहर थियो। तर, सरकारले नै उसको रगत बगाएर अपांग बनाइदियो। हाम्रो भविश्यको खाँबो टुट्यो, बोल्ने कुनै शब्द छैन,’ गह भर्दै उनले भने।
उनलाई छोराको भविश्य र जीवनभरको उपचार खर्चले पिरोल्न थालेको छ। ‘हाम्रा सन्तान राज्यको कमजोरीका कारण घाइते भएका हुन्। उनीहरूको जीवनभरको जिम्मेवारी सरकारले लिनुपर्छ। हामी गरिव मानिसले कसरी उपचार गर्ने?,’ उनले भने।
उनका अनुसार गोलीले कसैको ढाड छेडेको छ। कसैको खुट्टामा क्षति पुर्याएको छ। कसैको पाखुराको हड्डि तहसनहस पारेको छ।
सिभिल अस्पताल परिसरमै रेडक्रस कैलाली शाखा सभापति लोकराज जोशी बिरामी भेट्न आएका थिए। उनले कैलालीलगायत सुदूरपश्चिमका युवाहरू पनि घाइते भएको सुनेको र उनीहरूको अवस्था बुझ्न आफू काठमाडौंका विभिन्न अस्पतालमा पुगिरहेको बताए।
‘आन्दोलनका क्रममा केही विद्यार्थीको निधन भयो। केही घाइते हुनु भएको छ। उहाँहरूका लागि आवश्यक पर्ने रगत र हामीहरूका तर्फबाट हुन सक्ने सहयोगका लागि बिरामीहरूलाई भेट्न आएका हौं,’ उनले भने।
रेडक्रसका निवर्तमान केन्द्रीय सदस्य पनि अस्पतालहरूमा बिरामीको अवस्था बुझ्न पुगिरहेका छन्। उनले जेनजी आन्दोलनका क्रममा भएको हताहतिले आफूलाई निकै दुखी तुल्याएको बताए। उनले सबैलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिलसमेत गरेका छन्।
यस्तै सिभिल अस्पतालकी सूचना अधिकारी रञ्जना नेपालले अहिले २३ जना घाइते उपचाररत रहेको जानकारी दिइन्। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको उनले बताइन्।
उनका अनुसार अस्पतालमा उपचाररत ६ जना घाइते ज्यान गुमाइसकेका छन्। ‘२३ गते र २४ गते दुवै तीन घाइतेहरू अधिक आउनु भयो। २३ गते हाम्रा बिरामीको चाप पनि थियो। त्यसैमा घाइतेहरूको संख्या थपिँदा अस्पतालको अवस्था भयावह थियो। हामीलाई त्यो दिन सम्हाल्न निकै गाह्रो भयो। अर्को दिन पनि घाइते ठूलो संख्यामा भर्ना हुनुभएको थियो,’ उनले भनिन्।
उनले अहिले सहजताका साथ आफूहरूले उपचार गरिरहेको बताएकी छन्। अहिले अस्पतालमा घाइतेहरूलाई भेट्न आउनेको संख्या बाक्लो रहेकाले त्यसलाई केही घटाउन आग्रह गरेकी छन्।
‘अहिले पत्रकार, समाजसेवी, शुवेच्छुक, आफन्त, राजनीतिकदलका सम्बद्ध व्यक्तिहरू भेट्न आइरहनु भएको छ। उहाँहरूको चिन्ता र चासो स्वभाविकै हो। तर, अस्पतालले धेरै भेटघाट नहोस् चाहिरहेको छ। जति कम भीड भयो अस्पताललाई त्यही उपचारमा सहज हुन्छ। बिरामीलाई संक्रमणको जोखिम पनि कम हुन्छ। त्यसैले अस्पतालले सबै पक्षबाट त्यो सहयोगको अपेक्षा गरिरहेको छ’, उनले भनिन्। अस्पतालले बिरामीको उपचारमा कुनै कसर बाँकि नराख्ने उनको प्रतिवद्धता छ।
















Facebook Comment