इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृत्यु

डिसी नेपाल
३० भदौ २०८२ १०:३७
100
Shares

काठमाडौं। यमनको राजधानी सानाको ताह्रिर स्क्वायरस्थित दुई पत्रिकाको कार्यालयमा इजरायली हवाई आक्रमण हुँदा ३१ सञ्चारकर्मीको मृत्यु भएको छ। बुधबार बेलुकी भएको उक्त आक्रमणपछि स्थानीय समुदायमा शोक र आक्रोश फैलिएको छ।

हुथी समूहले एक वक्तव्य जारी गर्दै २६ सेप्टेम्बर र अल-यमन पत्रिकाको कार्यालयमाथि इजरायली विमानले बम आक्रमण गरेको र भवनहरू पूर्णरूपमा ध्वस्त भएको जनाएको छ। समूहले यस आक्रमणले आफ्नो सञ्चार गतिविधि कमजोर नहुने पनि स्पष्ट पारेको छ।

आइतबार बिहान स्थानीय सञ्चारकर्मीहरूले ध्वस्त कार्यालय स्थलमा पुगेर मृतक सहकर्मीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

२६ सेप्टेम्बरमा पत्रिकाका पत्रकार इस्साम अल-मोश्कीले भने, “इजरायली विमानहरूले चारवटा बम प्रहार गरे, जसले हाम्रो भवन पूर्ण रूपमा ध्वस्त बनायो। हाम्रो संस्था कुनै पनि सैन्य गतिविधिसँग सम्बन्धित छैन्। धेरै पत्रकारहरू आफ्नो कर्तव्यमा रहेका बेला ज्यान गुमाए। आसपासका आवासीय घरहरू पनि क्षतिग्रस्त भएका छन्, जसमा महिला र बालबालिकाको पनि मृत्यु भएको छ।”

हुथी समूहका प्रेस अधिकारी ओमर अल–बुखैतीले भने, “इजरायलले बारम्बार सञ्चारमाध्यमहरूलाई निशाना बनाउँदै आएको छ, विशेष गरी ती मिडियाहरूलाई जसले इजरायलका अत्याचारहरू उजागर गर्छन्। यी पत्रकारहरूलाई योजनाबद्धरूपमा मारिएको हो।”

हुथी नियन्त्रित स्वास्थ्य निकायका अनुसार सानामा भएको इजरायली आक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ भने १६५ जना घाइते भएका छन्। जसमा महिला र बालबालिका पनि छन्। भग्नावशेषभित्र अड्किएका मानिसहरूको उद्धार कार्य जारी रहेको छ।

इजरायली सेनाले भने आफूहरूले हुथी समूहका सैन्य शिविर, सार्वजनिक सम्पर्क केन्द्र र इन्धन भण्डारणस्थलमा प्रहार गरेको दाबी गरेको छ। हौती समूहले भने इजरायलमाथि आक्रमणहरू जारी राख्ने र गाजामा युद्ध तथा नाकाबन्दी अन्त्य गर्न दबाब दिइरहने बताएको छ। सीसीटीभी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.