महोत्तरीका १४ स्थानीय तह खुला दिसामुक्त घोषित

डिसी नेपाल
२३ भदौ २०७६ ७:४१

महोत्तरी । महोत्तरी जिल्लाका १४ स्थानीयतह खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएका छन्। पछिल्लोपटक जिल्लाको लोहारपट्टी नगरपालिका आइतबार खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएपछि यो सङ्ख्या १४ पुगेको हो। अब जिल्लामा जिल्ला सदरमुकाम रहेको जलेश्वर नगरपालिका मात्र खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा हुन् बाँकी छ।

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति र पूर्ण खोप जिल्ला समन्वय समितिले भदौ महीनाभित्रै जिल्ला नै खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा गरिसकिने जनाउँदै आएका छन्। भदौ महीनाभित्रमा नै औरही र मटिहानी नगरपालिका एवं महोत्तरी र एकडारा गाउँपालिका यसअघि खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएका हुन्।

त्यसअघि साउन मसान्तका दिन भङ्गाहा नगरपालिका खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएको थियो। जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले आइतबार जिल्लाकै पवित्र धार्मिकस्थल गेरुकाधाममा लोहारपट्टी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा अब असोज सङ्क्रान्तिका दिन जिल्लाका कुनै स्थानीयतह खुला दिसा गर्ने र खोप छुटेका नहुने बताए ।

जिल्लाका एकलाख ११ हजार ३४ परिवारमध्ये अब जलेश्वर नगरपालिका भित्रका करीब ४०० घरमा शौचालय बन्न बाँकी रहेको समितिले जनाएको छ।जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये सदरमुकाम रहेको नगर नै खुला दिसामुक्त र पूर्ण खोपयुक्त बन्न नसक्नु जिल्लाको लागि गौरवको विषय नभएको यहाँका वुद्धिजीवीले टिप्पणी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *