समयमा आयोजना पूरा नगर्नेसँग सम्झौता तोड्ने मन्त्री घिसिङको चेतावनी
काठमाडाैं। ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका छन्।
आइतबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वसँगको छलफलका क्रममा मन्त्री घिसिङले मुलुकमा परिवर्तनका लागि ठूलो आन्दोलन भएकाले अव सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका हुन्। उनले देशमा देखिएको निराशालाई निर्मूल पार्न सवै लाग्नुपर्ने उल्लेख गरे।
सवै मन्त्रालय र सचिवहरुलाई कुनै पनि कुरामा तलमाथि नगर्न र सरकारको निर्देशन पूर्ण रुपमा कार्यान्वयन गर्न भनिएको उनले बताए। मन्त्री घिसिङले जिम्मा लिएर समयमा आयोजना पूरा नगर्नेसँग सम्झौता तोड्ने स्पष्ट पारे।
छलफलपछि महासंघका अध्यक्ष रवि सिंहले जेनजी पुस्ताको आन्दोलनपछिको निर्माण क्षेत्रको परिस्थितिका बारेमा कुराकानी भएको बताए। उनले रुग्ण योजना खारेज गर्दा त्यसबाट पर्ने असर पहिचान गर्न सुझाव दिइएको जानकारी दिए।
त्यस्तै भ्रष्टाचार व्याप्त हुने क्षेत्र उपभोक्ता समिति भएकाले त्यसलाई खारेज गर्न समेत सुझाव दिएको उनको भनाइ छ। उनले निर्माण उद्योग लगाएत मुलुकको अर्थतन्त्रलाई चलाउनमान बनाउनका लागि देखिएका व्यवधान वर्तमान सरकारले अन्त्य गर्ने विश्वास व्यक्त गरे।







डिसी नेपाल







Facebook Comment