पन्ध्र हजार हेक्टर जमिन बाँझै

डिसी नेपाल
२१ असोज २०८२ १२:४९
8
Shares

ढोरपाटन (बागलुङ) । बागलुङका धेरैसजो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन्। बसाइँसराइले गाउँमात्रै सुनसान भएका छैनन् धान, गहुँ र मकै फल्न खेतीयोग्य जमिन पनि बाँझिने क्रम बढेको छ। कतै सिउँडी पलाएका छन्, त कतै बनमाराले ढाकिएका छन्। घर पनि रुग्ण बनेका छन्।

काठेखोला गाउँपालिका तथा जैमिनी र गलकोट नगरपालिकामा बसाइँसराइ गरे सहर बजार झर्नेको सङ्ख्या अत्यधिक छ। गाउँमा बूढापाका र बालबालिका मात्रै छन्। युवा शक्ति विदेश पलायन भइरहेको छ। यही कारणले बर्सेनी जमिन बाँझोमा परिणत हुँदैछ। यसले उत्पादनमा असर परेको छ।

बागलुङमा कूल एक लाख ७८ हजार ४०६ हेक्टर जमिन रहेको छ। त्यसमध्ये ४६ हजार १४८ हेक्टर जमिनमा खेती गर्न सकिन्छ। हाल ३० हजार ५०३ हेक्टर जमिनमा मात्रै खेती भइरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए।

कूल जमिनको २५ प्रतिशत मात्रै खेतीयोग्य जमिन रहेकामा अहिले १७ प्रतिशत जमिनमा मात्र खेती हुने गरेको छ। बागलुङमा १५ हजार ६४५ हेक्टर जमिन बाँझो रहेको र आगामी वर्ष अझै घट्ने देखिएको अधिकारीले बताउँछन्। ‘जिल्लामा १४ हजार ६२५ हेक्टर जमिन बाँझो छ, एक हजार २० हेक्टर जमिनमा खती नगरी अन्य प्रयोगका लागि प्रयोग भएको छ’, उनले भने।

जैमिनी–४ की देवी शर्माले काम गर्ने व्यक्तिको अभावले आफ्नो ८० प्रतिशत बारी झाडीमा परिणत भएको बताए। पहिला २० मुरी धान, २२ मुरी मकै र कोदो उत्पादन गरेको सम्झिँदै उनले भने, ‘पैसा दिएर पनि खनजोत गर्ने खेताला पाइन छाडे।’

काठेखोला–८ लेखानीका मेघराज कँडेलले पछिल्लो १० वर्षमा गाउँको आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो बनेको बताए। गाउँमा बूढाबूढी मात्रै रहेकाले काम गर्न नसक्दा खेतीयोग्य जमिन बाँझो बनेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.