इजरायल र हमासबीच युद्धविराम सम्झौता, सबै बन्धक मुक्त गर्ने सहमति

डिसी नेपाल
२४ असोज २०८२ १०:२१
256
Shares

काठमाडौं। इजरायल सरकारले शुक्रबार बिहान हमाससँग गाजाको युद्ध अन्त्य गर्ने र बाँकी सबै बन्धकहरू मुक्त गर्ने उद्देश्यले तयार गरिएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जीवित र मृतक सबै बन्धकहरूको मुक्तिका लागि सहमति भएको ढाँचा स्वीकृत गरेको छ।’ यो प्रस्तावलाई पर्याप्त मत प्राप्त भए पनि इजरायली मन्त्रीहरू इतामार बेन–गभिर र बेजालेल स्मोट्रिचजस्ता कट्टरपन्थी नेताहरूले यसको विरोधमा मतदान गरेका थिए।

सम्झौता अनुसार, ‘सरकारको अनुमोदनसँगै युद्ध तुरुन्त अन्त्य हुनेछ। सबै सैन्य गतिविधि, जसमा हवाई र तोप बमबारी तथा लक्ष्य निर्धारण कारबाहीहरू रोक्का गरिनेछ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वीय दूत स्टीभ विटकफ र उनका ज्वाईं जारेड कुश्नर पनि उक्त मन्त्रिपरिषद् बैठकमा उपस्थित थिए।

सम्झौताअनुसार हमासले इजरायली फौज फिर्ता भइसकेको ७२ घण्टाभित्र २० जना जीवित बन्धक र २८ जनाको शव फिर्ता गर्नेछ। यसको साटोमा इजरायलले करिब २,००० पालेस्तिनी कैदीहरूलाई मुक्त गर्नेछ।

तीमध्ये करिब २७० जना इजरायली नागरिकमाथि आक्रमणमा संलग्न अभियोगमा दोषी ठहरिएका छन् भने बाँकी करिब १,७०० जना गाजाका बासिन्दा हुन्, जसलाई बिना मुद्दा पक्राउ गरिएको थियो। तीमध्ये २२ जना १८ वर्षमुनिका किशोर छन्। साथै, इजरायलले ३६० जना गाजाली लडाकुहरूको शव पनि फिर्ता गर्नेछ।

यो ऐतिहासिक युद्धविराम सम्झौता इजीप्टको शर्म एल–शेखमा तीन दिनसम्म चलेका अप्रत्यक्ष वार्ताबाट भएको हो, जसमा अमेरिका, इजीप्ट, कतार र टर्कीले मध्यस्थता गरेका थिए।

दुई वर्षदेखि जारी इजरायली आक्रमणले गाजालाई पूर्णरूपमा ध्वस्त पारेको छ। स्थानीय स्वास्थ्य निकायका अनुसार, युद्धका कारण हालसम्म ६७ हजारभन्दा बढी पालेस्तिनीले ज्यान गुमाएका छन् र लाखौँ मानिस भोकमरी र मानवीय सङ्कटमा परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.