भाटभटेनी सुपरमार्केटको माया

कपिल लोहनी
२५ असोज २०८२ ६:५०
176
Shares

सन् १९८० को उत्तरार्द्ध तिरको कुरा हो। दिउँसोको समयमा मोटरसाइकलमा घुम्दै भाटभटेनीको मन्दिरबाट नक्साल र विशालनगर जाने मोडको लहरै कवलहरू निर्माण गरिएको एक भुइँतले घरमा केही चहलपहल देखेर युवावयको मैले आफ्नो मोटरसाइकल सो भवनको पार्किङ स्थलमा लगेर रोक्छु र सो भवनभित्र पस्छु।

त्यहाँ सोही दिनदेखि एउटा ग्रोसेरी स्टोर खुलेको रहेछ र सो दिन पहिलो दिन भएकोले त्यहाँ आउने ग्राहकहरूलाई चमेना पनि गराइएको रहेछ। स्वागतमा बसेका थिए हँसिला जोडी मिनबहादुर गुरुङ र उनकी पत्नी। त्यहीँ नजिकैको भाटभटेनीको मन्दिरको नामबाट सो स्टोरको नाम भाटभटेनी सुपरस्टोर राखिएको थियो।

सो स्टोरमा त्यतिबेला रानी ऐश्वर्य, युवराज दिपेन्द्र र त्यतिबेलाको राजपरिवारका अन्य सदस्य पनि किनमेल गर्न आउने गरेको मैले निकै पटक देखेको थिएँ। त्यतिबेला हालको काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको कमलादीस्थित भवन मुमावडामहारानी रत्नको नाममा छ भन्ने कुरा सुन्नमा आएको थियो।

एक पटक भाटभटेनीमा किनमेल गर्न जाँदा युवराज दिपेन्द्र निकै बेर सो स्टोरको भुइँतल्लामा रहेको ग्रोसेरी शाखामा यता उता घुम्दै चुपचापसँग ग्राहकहरूले किनमेल गरेको दृश्यको अवलोकन गरिरहेका थिए।

पछि कसैले भने अनुसार उनले त्यसरी अन्य स्टोरहरू जस्तै ब्लुबर्ड, काष्ठमण्डप, नाङ्लो आदिमा पनि त्यस्तै अवलोकन भ्रमण गरेका थिए रे। सुन्नमा आए अनुसार उनलाई त्यतिबेला आफ्नी हजुरआमाको कमलादीस्थित काठमाडौँ प्लाजामा एक सपिङ मल चलाउने इच्छा जागेको थियो रे।

सन् १९८४ तिर बैंकको नोकरी छोडेर मिनबहादुर गुरुङ र उनकी पत्नीले एउटा सानो कोल्ड स्टोर र किराना पसलबाट शुरु गरेको भाटभटेनी सुपरमार्केटले विगत ४१ वर्षमा ग्राहकहरूको अशिम माया र विश्वास पाएर आफ्नो व्यवसायलाई बढाउँदै लगे पछि आज यो स्टोरका दर्जनौं शाखाहरूले मुलुकका विभिन्न ठाउँमा आफ्नो उपस्थिति जनाएका छन्।

वास्तवमा राणाशासन छँदा नै काठमाडौँको भद्रकाली मन्दिर परिसरमा खुलेको विदेशी सामान पाइने पसल र पछि नयाँसडकमा खुलेका छाता भण्डार र मुन्चा हाउस र झनै पछि नयाँ सडकको पछाडिको रणमुक्तेश्वरमा खुलेको फ्रेसहाउस नेपालको आधुनिक किनमेलका अग्रणी दोकानहरू हुन्।

सन् १९८० कै मध्यतिर नेपालमा यस्ता डिपार्टमेन्टल स्टोरहरूको स्थापना हुन थालेको हो। त्रिपुरेश्वरस्थित ब्लुस्टार होटेलको हातामा ब्लुबर्ड डिपार्टमेन्टल स्टोर खुलेपछि राजधानीवासीहरूलाई एकै स्थानबाट विभिन्न दैनिक आवश्यकीय वस्तुहरू खरिद गर्ने अवसर मिलेको थियो।

यो सँगै केही वर्षभित्रमा नै नयाँ सडकको खिचापोखरीमा सेन्ट्रल डिपार्टमेन्टल स्टोर, पुतलीसडकमा नाङ्लो बजार र काष्टमण्डप र जावलाखेलमा नमस्ते, जिमिनी  सुपरमार्केट पनि खुले।

उता पोखराको चिप्लेढुङ्गाबाट शुरु भएको सेलवेज डिपार्टमेन्ट स्टोरले आफ्नो पहिलो शाखा ललितपुरको जावलाखेलमा शुरु ग¥यो भने पुर्वाञ्चलको अग्रणी स्टोरको रूपमा इटहरीमा गोरखा डिपार्टमेन्टल स्टोर र धरानमा शैलुङ डिपार्टमेन्टल स्टोर पनि शुरु भए।

हेर्दा हेर्दै यी मध्ये धेरै स्टोरहरूले आफ्ना शाखा विस्तार गर्दै गए भने प्रतिष्पर्धा र व्यवस्थापकीय कमजोरीले गर्दा धेरै यस्ता दोकान बन्द पनि हुँदै गए। त्यस्तै नयाँ नयाँ स्टोरहरू मुलुकभर खुल्ने क्रम पनि जारी नै छ।

आजको दिनमा आइपुग्दा काठमाडौँको भाटभटेनीमा स्थापना भएको पहिलो भाटभटेनी सुपरमार्केटले मुलुकभर एकै प्रकारका दर्जनौँ शाखा स्थापना गरेर नेपालको सुपरमार्केट संस्कृतिको नेतृत्व नै गर्न सफल भएको छ भने नेपाली वाहेक भारतीय र अन्य मुलुकका पर्यटकलाई पनि किनमेलको आनन्द दिन सफल भएको छ।

त्यस्तै पोखराको चिप्लेढुङ्गाबाट शुरु भएको सेलवेजले सेलवेज र सेल्सबेरी नामका ठूला-साना स्टोरहरू राजधानी र अन्य ठाउँका विभिन्न स्थानमा सञ्चालन भइरहेका छन्। इटहरीमा मुख्य स्टोर रहेको गोरखा डिपार्टमेन्टल स्टोरले पनि पूर्वाञ्चलमा करिव आधा दर्जन स्टोरहरू सञ्चालन गरेको छ।

बिगमार्ट र सीजीमार्ट जस्ता साना तर अति नै लोकप्रिय ग्रोसेरी स्टोरहरूका दर्जनौँ शाखा पनि राजधानी र अन्य स्थानमा सफलतापूर्वक चलि नै रहेका छन्। यस्ता अन्य कम्पनीका स्थानीय साना स्टोरहरू त मुलुकभर नै खुलेका छन्।

समग्रमा भन्नु पर्दा एकै स्थानमा विभिन्न प्रकारका सामान पाइने यस्ता स्टोरहरूले ग्राहकहरूलाई निकै सुविधा प्रदान गरेका छन् भने ग्राहकले पनि किनमेल गर्ने छुट्टै आनन्द महसुस गर्छन्।

एउटै छाना मुनी दाल, चामल र अन्य खाद्य तथा पेय पदार्थ, सागसब्जी र फलपूmल, लत्ताकपडा, जुत्ता, भाँडाकुँडा, मसलन्द, व्याग, ओढ्ने-ओछ्याउने तथा इलेक्ट्रोनिक सामान, फर्निचर र रेष्टुरेन्ट अनि बच्चाहरूका लागि खेलौना र आइसक्रिम अनि खेल्ने ठाउँ समेत उपलब्ध हुने अनि सिनेमा हल।

भाटभटेनी, सेलवेज, गोरखा जस्ता विशाल बजारले ग्राहकहरूको समयको वचत गर्नुको साथै पुरै परिवारलाई किनमेलको वहानामा सामाजिक घुलमिलमा व्यस्त बनाउने काम पनि गरेका छन्। अर्कोतर्फ ४५ वर्ष देखिको यस्तो तवरको किनमेल प्रणालीले कम आवश्यक वस्तुहरू पनि स्टोरमा देखेर अधिक मात्रामा खरिद गर्ने खर्चालु परिपाटी बसेको छ।

यी वाहेक ललितपुरको लाविम मल, काठमाडौँको त्रिपुरेश्वरको यूडब्लुटीसी, कमलपोखरीको सीटी सेन्टर, सुन्धाराको सिभिल र सीटीसी मल, बालाजु बस पार्क र चावहिल-वौद्धका मलहरू तथा यस्तै प्रकारका अन्य मलहरू नेपालका ठूलासाना शहरहरूमा पनि विदेशमा जस्तै गरेर स्थापना भएका छन्।

विदेशको दाँजोमा निकै साना भए पनि तिनले विदेश नै पुगेको भान गराउँछन्। लिफ्ट, स्केलेटर, उज्याला र आकर्षक किनमेलका पसल र लब्बीहरू, रेष्टुराँ, क्याफे र सिनेमा हल, सम्मेलन र भोज खाने हलहरू अनि यथेष्ट पार्किङ सुविधा।

यस्तो सेवा प्रदान हुने ठाउँहरू विभिन्न शहरहरूमा उपलब्ध भए पछि सधैँ नै मेला लागे जस्तो भइहाल्यो नि। विराटनगर जस्ता तराईका गर्मी इलाकामा त एकछिन भए पनि भाटभटेनी र अन्य ठूला मलभित्र पसेर वातानुलित अवस्थाबाट शितलता लिन मानिसहरू ओइरिने गर्दछन्। केही खरिद नगरे पनि माथिदेखि तलसम्मको बजार घुम्दा पनि कति आनन्द आउने।

विशेष गरी कोभिडको महामारीदेखि विभिन्न स्टोरका साथै अन्य कम्पनीहरू र भोजनगृहहरूले पनि इन्टरनेट मार्फत् अनलाइन सपिङ गर्न ग्राहकहरूलाई प्रोत्साहन गरेका छन्। खासगरी युवाहरूले रात-बेरात अनलाइन मार्फत खाना मगाएर खाने गरेका छन्।

एकातिर व्यवसायीको बिक्रीमा ठूलो वृद्धि भएको छ भने अर्को तर्फ आधारातमा पनि विभिन्न प्रकारका अस्वस्थकर (जङ्क) खाना मगाएर खाने बानीले मानिसहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न थालेको छ।

भाटभटेनी सुपरमार्केटको शुरुवाती दिनदेखि मेरो चिनाजानी मिनबहादुर गुरुङ र उनकी पत्नीसँग हुन पुग्यो। भाटभटेनीस्थित यो स्टोरको थालनीसँगै मेरो किनमेलको पर्याय नै भाटभटेनी हुन पुग्यो। केही समयपछि उनका भाइसँग पनि चिनाजानी भयो।

अचम्मको कुरा त के छ भने, भाटभटेनी स्टोरको थालनीको दिन र आजसम्म पनि मिनबहादुर गुरुङ, उनकी पत्नी र भाइको हँसिलो मुहार र व्यवहारमा कुनै फरकपना आएको छैन। सधैँ उस्तै शालिन, हँसिलो, सरल र आतिथ्यले भरिपूर्ण व्यवहार। त्यसैले त होला नि ग्राहकहरूलाई उनका पसलहरूमा सामान खरिद गर्न विशेष रूपले जान मन लाग्ने।

आज भाटभटेनीस्थित सबैभन्दा पहिला खुलेको स्टोरको त्यो दारुण भविगत देख्दा सधैँ मन रुने गर्दछ। त्यहाँ खरिद गरेका कतिपय फर्निचर र स्थाई प्रकृतिका सामान मेरो र मेरा नजिकका मानिसहरूको घरमा अझै छन्।

ती सामानहरू हेर्दासमेत आँखा अघि भाटभटेनी सुपरमार्केट र मिनबहादुर गरुङ परिवार आउने गर्दछन्। भाटभटेनी सुपरमार्केट परिवारसँग जस्तै इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर र सोका मालिक बलराम आचार्य परिवारसँग मेरो निकै गहिरो सम्बन्ध छ।

गोरखा डिपार्टमेन्ट स्टोरको इटहरीस्थित प्रथम स्टोरको भवन बन्दा त्यसका इँटाहरू थपिँदै गर्दादेखि म त्यो परिवारसँग नजिक रहेको थिएँ। त्यस्तै सेलवेज डिपार्टमेन्ट स्टोरका मालिक र उनका निकै मेहनती छोराहरूसँग पनि मेरो पुरानै परिचय हो। यी तिन वटै स्टोरको मेहनत र प्रगति तथा यिनले नेपालमा आधुनिक किनमेल संस्कृति भित्राउने कार्यमा खेलेको अहम् भूमिकाको म निकै सह्राहना गर्ने मान्छे।

जुनसुकै शहरमा भएको भाटभटेनी स्टोरको घर पनि उस्तै प्रकारको, कर्मचारी उस्तै फरासिला, सामान राखिने स्थान र तल्लाहरू सबै उस्तै अनि ग्राहकहरूको चहलपहल पनि उत्तिकै। तर हालैको आन्दोलनमा भाटभटेनी सुपरमार्केट निजी क्षेत्रका उद्यमहरूमध्ये मुख्य निशाना बन्न पुग्यो।

मुलुकभरका करिव २८ शाखामध्ये २१ शाखामा आगजनी र तोडफोड गरियो। ती मध्ये १२ वटा शाखा त जलेर पुरै खरानीमा परिणत भए।
यसरी नै करिव २५ वटा ठूलासाना होटेल, बैंकहरूका ६८ वटा शाखा र एक्स्टेन्सन काउन्टर, झण्डै तीन दर्जन एटीएम तथा दुई वटा केवलकार कम्पनी, दूरसञ्चार प्रदायक कम्पनी, हवाई कम्पनी, सञ्चार कम्पनी, सवारी साधनका सोरूम तथा निजी क्षेत्रका अन्य थुप्रै उद्यम र कार्यालयमा सामान्यदेखि भयावह क्षति हुने गरि आगजनी र तोडफोड भएको कुरा समाचारहरूमा आए र प्रत्यक्ष पनि देखियो।

हालैको घटनाले भाटभटेनी सुपरमार्केटका १० हजार कर्मचारी मध्ये ५ हजारको नोकरी धरापमा पर्न गएको भएपनि भाटभटेनीका मालिक मिनबहादुर गुरुङको सदाशयता र कर्मचारीप्रतिको माया र अपनत्वका कारण कसैले पनि जागीरबाट हात धुनु परेन।

यसो गर्दा र हाल व्यापार घट्न गएर यो संस्थालाई तलब र सुविधामा ठूलो भार पर्ने भए पनि संस्थापन पक्षले कर्मचारीको बफादारी र कडा मेहनतको कदर गरेको उदाहरण सह्राहनीय छ।

उनले ग्राहकहरूको साथ र मायामा नै ठूलो बल भएकोले भाटभटेनी परिवारले पुनर्निर्माणमा कुनै विलम्ब नगरी छिटै पुनः उभिने प्रतिवद्धता पनि सार्वजनिक रूपमा नै जाहेर गरेका छन्। एकातिर भाटभटेनीको विनासले सबै ग्राहकको मन रोएको छ भने अर्कोतर्फ सधैँ मुस्कुराइ रहने मिनबहादुर गुरूङ यो घटना पछि रोएको देख्दा हामी लगायत धेरैको आँखा रसाएको थियो।

उनको प्रथम उद्यमको रूपमा सन् १९८० को पुवाद्र्धमा स्थापना भएको सानो कोल्डस्टोर पनि आगलागीको कारण नै धरासायी भएको थियो। त्यतिबेला नेपाल बैंकमा कार्यरत उनले परिवारका सदस्यहरूको सहभागितामा सञ्चालन गरेको त्यो सानो व्यवसायलाई वृद्धि गर्न बालुवाटार, विशालनगर, लाजिम्पाट, नक्शाल जस्ता सम्भ्रान्तहरू बस्ने र विभिन्न मुलुकका राजदूतावास र विदेशी नियोगहरू भएका ठाउँमा घर घरमा सामान पुर्‍याउने बन्दोवस्ती पनि मिलाएका थिए र आफैं पनि परेको बेलामा यो काममा लाग्ने गर्दथे।

व्यापारी र उद्यमीहरूलाई चन्दा र अन्य आर्थिक मामलामा भ्रष्ट राजनीतिज्ञ तथा राजनीतिक दल र प्रशासकहरूले संलग्न गराउने गरेको नेपालमा मात्र नभई विकासशील र विकसित राष्ट्रहरू जताततै हो।

त्यसैले व्यापारीले कति हदसम्म तिनलाई सहयोग गर्ने र यस्ता काममा आफू कतिसम्म सार्वजनिक रूपमा उदाङ्गीने भन्ने कलामा निपुण हुन सक्नु पनि व्यावसायिक सक्षमताको सिद्धान्तको एउटा पाटो नै हो। यसमा मिनबहादुर गुरुङ आफ्नो भलाद्मीपनाको कारण अलिक चुकेको जस्तो लाग्यो।

आफूले वा आफ्नो संस्थाले आर्जन गरेको आम्दानीको केही हिस्सा जे जसरी दान दिन पनि सकिन्छ तर पनि कुनै निश्चित राजनीतिक दललाई अति नै ठूलो रकम दलको कार्यालय निर्माणको निम्ति भनेर चन्दा दिएको सार्वजनिक घोषणा गर्दा वा कुनै कुराले आक्रोशित भएर मुलुकमा चल्ने गरेका विभिन्न आन्दोलनलाई इङ्गीत गर्दै यस्ता यस्ता वादहरू अब कहिल्यै आउँदैनन् भनेर सार्वजनिक रूपमा ठोकुवा गर्दा केही पक्ष खुशी भए पनि धेरै पक्षहरू रिसाइरहेका हुन सक्छन्। त्यसै पनि सफल उद्यमी वा अरू सफल व्यक्तिको रिस गर्ने परिपाटी नेपालमा छँदैछ।

व्यापारको एउटा सामान्य सिद्धान्त अनुरुप पनि एक सफल व्यवसायीले आफ्नो सेवाको उपभोग गर्ने सबै थरीका ग्राहकलाई आफू तटस्थ व्यापारी भएको र कुनै वाद वा राजनीतिसँग सम्वद्ध भएको वा भुकाव भएको भन्को दिनु राम्रो हुँदैन। व्यवसायीले सधैँ सबै खालका ग्राहक आफ्नो पसलमा आउन् र सेवा गर्ने मौका मिलोस् भन्ने सोच् राख्नु पर्दछ।

नेपालका केही ठूला उद्यमी तथा व्यापारीक घरानाको व्यवसायमा पनि हालै आगजनी र तोडफोड हुँदा उनीहरूमध्ये केहीले बडो संयमतापूर्वक सकारात्मक अभिव्यक्ति नै दिइरहेका छन् वा केहीले आफ्नो तर्फबाट कहिले केही भूल भएको भए समयको माग अनुरुप सच्याएर आफ्नो व्यवसायलाई अघि बढाउने प्रतिवद्धता पनि जाहेर गरेका छन्।

माथि नै उल्लेख भइसकेको छ कि मिनबहादुर गुरुङ र उनकी पत्नी, भाइ तथा अन्य परिवारजन व्यापारको शुरुवाती चरणमा जति शिष्ट र हँसिला थिए, आजसम्म पनि उस्तै नै छन्। अति सरल।

यो नै उनीहरूको सबैभन्दा ठूलो सम्पत्ति हो। उनीहरूले आफ्ना अग्रजहरूको सम्झनामा त्रिवि शिक्षण अस्पताल हातामा करोडौँको लागतमा बनाइदिएको आकस्मिक कक्ष सहितको भवन र अन्य यस्तै धेरै दानदातव्यहरूको सह्राहना नगर्ने व्यक्ति सायदै कोही छ होला।

भाटभटेनी सुपरमार्केटले आर्जन गरेको सम्पत्तिको ठूलो अङ्श यसरी समाजमा सिधा प्रभाव पर्ने गरी दान गर्ने गरेकोले पनि होला यसका सबै शाखाहरूमा ग्राहकहरूलाई एउटा मन्दिरमा गए जसरी जाउँ जाउँ लाग्ने तृष्णा नै जागेको।

मजस्ता धेरै ग्राहकहरूलाई अन्य व्यवसाय जस्तै भाटभटेनी सुपरमार्केटका धेरै शाखाहरू जलेर खरानी भएकोमा निकै खिन्नता छाएको छ भने किनमेल गर्ने जाँगरमा नै निकै कमी आएको छ। भन्नै पर्दा एक प्रकारको ट्रमा नै भएको छ।

आशा गरौँ, भाटभटेनीको शुरुको सानो व्यवसायमा आगलागी भए पछि पनि हरेस नखाएर मिनबहादुर गुरूङ र उनको परिवारले पुनः यो व्यवसायलाई आजको अति वृहत् रूपसम्म पुर्‍याउन सफल भए जस्तै आज भाटभटेनीसँग गुरुङ परिवार वाहेक कैयन् विज्ञ तथा इमान्दार र मेहनती कर्मचारीहरू भएकाले आउँदा दिनमा छिटै भाटभटेनी सुपरमार्केटले पुनः बौरिएर नेपालको प्रतिष्ठित विशाल बजारको रूप लिन सकोस् र नेपालीहरू रहेका विभिन्न मुलुकमा पनि शाखा विस्तार गरोस् तथा बदलिँदो परिस्थितिलाई मनन गर्दै अनलाइन खरिद-विक्री प्रणलीको वृहत् रूपमा अवलम्बन गर्न सकोस्।

सार्वजनिक र निजी सबै पुर्वाधारको निर्माणमा ठूलो योजना, धनराशी, मेहनत, समय र विश्वास गाँसिएको हुन्छ भने विभिन्न कारणवश हुने अप्राकृतिक विनासले मुलुक निकै समयसम्म पछाडि पर्न जान्छ।

अबको धेरै वर्षसम्म नेपालको पर्यटन क्षेत्रले अघि बढ्न निकै मुस्किल पर्नेछ भने वैदेशिक लगानी भित्रिने सम्भावना पनि अब न्युन हुनेछ। मुलुकभित्रका व्यवसायीमा पनि आफ्नो व्यवसायको सुरक्षा नहुने भएकोले यहाँ लगानी गर्नु भन्दा व्यवसाय बन्द गरेर विदेशमा लगानी गर्नु उचित भन्ने हतोत्साही मनस्थितिको विकास हुन बेर छैन। यस्तो हुँदै गएमा नेपालमा वेरोजगारी र गरीवी झनै बढ्दै जानेछ।

नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा झनै बिग्रने छ। आखिर नेपाल एक असफल राष्ट्रमा गनिन पनि बेर लाग्ने छैन। त्यसैले नेपालका राजनीतिक दल, नेता तथा सबै तहका सरकार र प्रशासनिक निकायहरूले भ्रष्टाचार र अनियमिततालाई घटाउँदै जानु जरुरी छ भने भ्रष्टहरूलाई कडा कानुनी दायराभित्र राखेर हदैसम्मको सजाय दिन सक्नु पर्दछ।

तर यो गर्ने नै कसले र। मुलुक सपार्ने वाचा गरेर विशाल जनआन्दोलन गर्दै गणतन्त्र तथा धर्मनिरपेक्ष संघीय संरचना निर्माण गर्ने अधिकांश नेताहरू आफैं राष्ट्रद्रोह र भ्रष्ट आचरणमा लिप्न भएर पैसा कै पछि लाग्ने र हिटलरी दमनमा उत्रने परिपाटीको चरम विकास भए पछि र माथिदेखि तलसम्मको सबै संरचना बिग्रेर तहस नहस भए पछि कसलाई पो विश्वास गर्ने हाम्रो नेपालमा। त्यसैले नै हो आज नयाँ पिँढीका युवाहरूले एक प्रकारको क्रान्ति नै छेडेको।

तर पनि सानातिना गल्ती वा भूल भयो वा आफ्नो मत मिलेन वा भीडमा अनेक थरी तत्व पसे भन्दैमा र राम्रै उद्देश्य लिएका भए पनि क्रान्तिकारी र आन्दोलनकारीहरूले मुलुकको विकासमा ठूलो योगदान दिने व्यापारिक र औद्योगिक प्रतिष्ठान तथा मुलुकका ऐतिहासिक र महत्वपूर्ण संरचनाहरूलाई आगजनी र तोडफोड गर्ने र ध्वस्त पार्ने कार्यलाई अब आइन्दा बन्द गर्नु अति आवश्यक छ।

शान्तिपूर्ण आन्दोलनबाट पनि निकै शक्तिशाली तानाशाहहरू धरासायी भएका घटनाका उदाहरण हाम्रा सामु धेरै छन् भने असल कार्यको निम्ति आन्दोलन र क्रान्ति गर्ने योद्धाहरू प्रति समस्त पिडित जनताको समर्थन अवश्य नै रहिरहने छ।

-लेखक विकास अर्थशास्त्री एवम् एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.