कर्णालीको चिसापानी : माछाका परिकारको चर्चित जक्सन
कर्णाली । सुदूरपश्चिम प्रदेश प्रवेश गर्ने मुख्य ढोका मानिने कर्णाली चिसापानी अहिले माछाका परिकारका लागि निकै प्रसिद्ध बन्दै गएको छ। यहाँ आउने यात्रुहरूलाई कर्णालीको चिसो हावा र ताजा माछाको स्वादले स्वागत गर्ने गर्छ।
चिसापानी क्षेत्रमा साना ठूला होटलहरूदेखि लिएर टोकरीमा माछा र अचार बोकेर बेच्ने स्थानीय व्यापारीहरूसम्म सबैले राम्रो आम्दानी गरिरहेका छन्।
साना माछाको मूल्य ५० रुपैयाँ र ठूला माछाको मूल्य १०० रुपैयाँ तोकिएको छ। यात्रुहरूका अनुसार, कर्णालीको माछा नखाई यात्रा अधुरो रहन्छ।
पूर्वी जिल्ला तथा राजधानीबाट छुटेका बसहरू चिसापानीमा केहीबेर रोकिन्छन्। चालकदेखि यात्रुहरूसम्म सबैले यहाँका स्वादिला माछाका परिकारको मजा लिन्छन्।
नवराज चापागाईं, चिसापानी निवासी होटल व्यवसायी हुन्। उनी आफ्नो न्यू दीपेश बाग्लुङ होटलमार्फत कर्णालीका माछाका विभिन्न परिकार बनाएर बेच्ने गर्छन्। उनका अनुसार, हाम्रो होटलमा दैनिक सयौं यात्रुहरू आउँछन्, माछाका परिकार नै मुख्य आकर्षण बनेका छन्।
त्यस्तै, मिना गुरुङ, सुर्खेतकी होटल व्यवसायी हुन्। उनले ‘देउती होटल’ सञ्चालन गरेकी छन्। उनको होटलमा माछासँगै अन्य ताजा परिकार पनि पाइन्छ। गुरुङ भन्छिन्, ‘यही होटलबाटै छोराछोरीको पढाइदेखि घर खर्च चलाउन सक्ने अवस्था भएको छ।’
सडक छेउमै टोकरी बोकेर माछा बेच्ने चन्द्र कठायत पनि सफल उदाहरण हुन्। उनी भन्छन्, ‘दिनको २५ सयदेखि ५ हजारसम्म कमाइ हुन्छ। यात्रुहरू माछा र अचार मन पराउँछन्।’
कर्णाली नदीको किनारमा बसेको यो ठाउँ अहिले माछाको स्वादको मुकाम बनेको छ। यहाँ नआइकन यात्रा अधुरो मानिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment