रामेछाप नगरपालिकाको गत आर्थिक वर्षको बजेट ८३ प्रतिशत खर्च

डिसी नेपाल
२६ असोज २०८२ १७:४०
16
Shares

रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ८३.०७ प्रतिशत मात्र खर्च गरेको छ।

आइतबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत भोलाप्रसाद चापागाईंले सो तथ्याङ्क प्रस्तुत गरेका हुन्।

उनका अनुसार चालुतर्फ रु ४४ करोड १८ लाख ५ हजार ८ सय ७६ पूँजीगततर्फ रु १९ करोड ६९ लाख ५५ हजार ९ सय ६८ गरी कुल रु ६३ करोड ८७ लाख ६१ हजार ८ सय ४५ बजेटमध्ये ८३.०७ प्रतिशत मात्र खर्च भएको हो।

वार्षिक समीक्षामा सामाजिक विकास, सुशासन तथा संस्थागत विकास र पूर्वाधार विकास शाखा अन्तर्गतका कार्यक्रमहरूका उपलब्धि तथा कार्य प्रगतिको विस्तृत विवरण प्रस्तुत गरिएको थियो।

कार्य प्रगति अपेक्षाअनुसार नहुनुको कारणबारे जानकारी दिँदै प्रमुख प्रशासनिक अधिकृत चापागाईंले योजना सम्झौता ढिलो हुने, ठेक्का प्रक्रिया समयमा सम्पन्न नहुने र असार मसान्तमा मात्र काम सक्नुपर्ने मानसिकताका कारण लक्ष्यअनुसार प्रगति नदेखिएको बताए।

रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना (खड्का) कार्की प्रमुख अतिथि थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *