सभामुख घिमिरेद्वारा हमासको अपहरणमा परी ज्यान गुमाएका जोशीप्रति शोक व्यक्त
काठमाडौं। सभामुख देवराज घिमिरेले इजराइलमा अध्ययनरत रहँदा हमासको अपहरणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको निधनले मर्माहत बनाएको बताएका छन्। आज शोक संवेदना प्रकट गर्दै उनले जोशीको निधनको खबरले अत्यन्त दुःखी र मर्माहत बनाएको बताएका हुन्।
‘जोशीको निधनले केवल उहाँको परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समाज र राष्ट्रलाई गहिरो पीडा दिएको छ। उहाँको जीवन रक्षाका लागि अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विशेष पहल गरिदिन अनुरोध गरेको थिएँ। आफ्नो तर्फबाट विभिन्न संसदीय फोरमसँगै कूटनीतिक पहल भए पनि परिणाम दुःखद् हुन गयो’, सभामुख घिमिरेले उल्लेख गरेका छन्, ‘देशका लागि ज्ञान, सीप र अनुभव लिएर फर्कने सपना बोकेका युवाको असामयिक बिदाइ हृदयविदारक छ। म स्व जोशीको आत्माको चिरशान्तिको कामना गर्दै परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’
उनले नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावास र सम्बन्धित निकायहरूलाई आगामी दिनमा नेपाली नागरिकको सुरक्षामा अझ प्रभावकारी कदम चाल्ने विश्वाससमेत व्यक्त गरे।







डिसी नेपाल








Facebook Comment