बढ्दो रोगब्याधी र मानव स्वास्थ्य
करिव ४० वर्ष अघिको कुरा हो, म मेरी माताको रक्त परिक्षणको रिपोर्ट लिनको निम्ति काठमाडौँको डिल्लीबजारस्थित सिद्धीपोली क्लिनिकमा रहेको सिद्धी पोली प्याथ ल्याबमा गएको थिए। त्यहाँ नेपालका त्यतिबेलैदेखि निकै नाम चलेका एक अग्रणी अर्थशास्त्री तथा राजनीतिज्ञ पनि आफ्नो रिपोर्टको प्रतिक्षामा उभिइरहेका रहेछन्।
एकैछिनमा डा. इश्वरलाल श्रेष्ठले उनको रिपोर्ट हेर्दै उनलाई ‘वधाई छ डाक्टर साहेब, तपाईं पनि डायबेटिकहरूको क्लबको सदस्य हुनु भयो अब’ भने। ती व्यक्तिले शुरुमा त झसङ्ग भए जस्तो गरे, अनि एकै छिनमा उनले सो चिकित्सकलाई ‘यो रोग कत्तिको खतरनाक हो डाक्टर साहेब ?’ भनेर सोधे।
उनको प्रश्नमा मुस्कुराउँदै डा. आईएल श्रेष्ठले ‘हेर्नोस् डाक्टर साहेब, मधुमेह खासैमा कुनै रोग होइन। तपाईंको प्याङ्क्रियाजले चाहिँदो मात्रामा इन्सुलिन पैदा गर्न नसकेर तपाईंको रगतमा चिनीको मात्रा सधैं बढी भइरहने यो एक प्रकारको खराबी हो। यदि तपाईंले चिनी बन्ने तत्वहरू जस्तै सिधा चिनी वा यसबाट बनेका खाद्य र पेय पदार्थ वा कार्बोहाइड्रेट र चिल्लो पदार्थ भएको खाना धेरै खाने गर्नुभयो भने तपाइँको शरीरमा चिनीजन्य तत्व बढी हुन गएर कालान्तरमा त्यसले तपाइँको मुटु, कलेजो, मिर्गौला तथा अन्य महत्वपूर्ण अंग तथा पेट र दिमागमा पनि विभिन्न रोग निम्त््याउन सक्दछ। त्यसैले बेलैमा सचेत भएर त्यस्तो अवस्थाबाट बच्न आजैदेखि कडा डाइट योजना बनाएर यसको पालनाका साथै आजीवन आवश्यक दैनिक व्यायाम गर्नुपर्ने र चिकित्सकले दिएका औषधिहरू निरन्तर रूपमा सेवन गर्नुका साथै नियमित रूपमा चिकित्सकको परामर्श लिनु पर्नेछ’ भने।
ती अर्थशास्त्री तथा राजनीतिज्ञ हाल ८४-८५ वर्षका भइसके। उनले तत्पश्चात् चिकित्सकको कुरा शिरोपर गरेकोले होला आज पनि उनी निकै तन्दुरुस्त देखिन्छन् र राजनीतिमा पनि निकै सक्रिय छन्।
उनी जस्तै मधुमेहका धेरै विरामीहरू रोग पत्ता लागे पछि निकै सतर्कता अपनाएर मधुमेहलाई कुनै विन्दु भन्दा बढी हुन दिँदैनन् र धेरै पछि सम्म स्वस्थ रहन्छन्। खानपानमा परहेज र व्यायाम तथा जीवनशैलीमा निकै फेरबदल गरेर उनीहरू स्वस्थ रहन्छन् र दीर्घजिवी हुन्छन्।
तर अधिकांश मधुमेहका विरामीहरू यो समस्या पत्ता लागेको केही समय पछि नै औषधी सेवन गरे पनि कुनै पथपर्वेज नगर्ने गरेर केही समय पछि झनै अस्वस्थ हुँदै जान्छन् र कालान्तरमा उनक शरीरका विभिन्न महत्वपूर्ण अङ्गहरू रुग्ण हुन थाल्दछन्।
वास्तवमा यसरी नै अन्य रोगहरूमा पनि मानिसले वास्ता नगरेर आफ्नो स्वास्थ्य बिग्रने काम गरिरहेका हुन्छन्। हिजोआज सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट पनि स्वास्थ्य बारे धेरै जानकारीहरू लिन सकिन्छ। तर मानिसलाई जटिल रोगले नछोउञ्जेलसम्म आफ्नो शरीर र स्वास्थ्यको कुनै पर्वाह नै हुँदैन।
उहिलेका मानिसहरू श्रममूलक कार्यहरू धेरै गर्दथे भने उनीहरूको हिँडडुल पनि दिनहुँ निकै धेरै हुने गर्दथ्यो। बजारिया खाना भन्दा अधिक घरायसी खाना नै मानिसहरू धेरै खान्थे भने यात्राको दौरान पनि घरमा बनाएका खाजाहरू नै पोको पारेर लगेर खाने गर्दथे।
भन्नुको मतलब त्यतिबेला आज जस्तो घर बाहिरका खाना खाने चलन अक्सर थिएन भने आज जस्तो जहाँतहीँ गरिष्ठ भोजन उपलब्ध पनि हुँदैनथ्यो। आफ्नै मुलुकमा उत्पादित खाद्य उपजहरूबाट बनेका सामग्री प्रचुर मात्रामा पाइने भएकोले खाद्य वस्तु आजजस्तो प्रदूषित हुँदैनथे भने यातायातका साधनको कम उपलब्धता र काम गर्न प्रयोग हुने प्रविधिको कमीले गर्दा मानिसहरू ज्यादातर हिँड्दथे र शारीरिक परिश्रमका साथ काम गर्दथे।
यसो गर्नाले ग्रामिण स्तरमा उत्पादन भएका घिउतेल, मह, सख्खर जस्ता खाद्य तथा चामल, दाल, तरकारी र फलपूmल जति खाए पनि राम्ररी पच्ने गर्दथ्यो र उनीहरू हृष्टपुष्ट रहन्थे।
आज विश्वमा खाने तथा पिउने कुरा, श्वास फेर्ने हावा, वातावरण यावत चिजमा कडा रसायनिक पदार्थ मिसिएको हुन्छ भने बजारमा पाइने अधिकांश खाद्य र पेय वस्तुमा विषादी र अखाद्य वस्तुको मिलावट हुने गर्दछ।। स्वच्छ खाद्य तथा पेय पदार्थ र हावापानी प्राप्त गर्न विकसित मुलुक वा गाउँघरमा पनि असम्भव भइसकेको छ।
यस्ता कारणले गर्दा पनि मानव तथा सबै पशुपंक्षीको स्वास्थ्यमा ज्यादै नकारात्मक असर पर्न थालेको छ। अर्कोतर्फ विज्ञान र प्रविधिको ठूलो विकास सँगै मान्छे अल्छी पनि हुँदै गएको छ। केही दशक अघिसम्म निकै हिँडडुल गर्ने मान्छेहरू हिजोआज घरबाट बाहिरको छिमेकमा सनातिना कुरा किन्न जाँदा पनि स्कुटर वा अन्य सवारीका साधन प्रयोग गर्ने भएका छन् भने अस्वस्थकर खान्गीमा जोड दिने भएका छन्। शहरी क्षेत्रमा मात्र नभई यस्ता चलन ग्रामिण क्षेत्रमा पनि चल्न थालेका छन्।
त्यस्तै मदिराजन्य मादक पदार्थको सेवन र त्यसमा पनि अत्यधिक रसायन मिसिएका विषालु जाँड-रक्सीको अधिक सेवनले मानव स्वास्थ्यमा ज्यादै धेरै असर पार्न थालेको छ। चुरोट भन्दा पनि खतरनाक त हिजोआज बजारमा पाइने प्याकेटका सूर्ति र गुट्खा हुने गरेका छन्। यस्ता कुराका अम्मलीहरू यी विषादीको सेवन नगरी बस्नै नसक्ने भएका छन्। सडकमा पाइने विभिन्न प्रकारका फोहरमा यस्ता सूर्तिजन्य वस्तुका प्याकेटको बाहुल्य नै बढी भएको पाइन्छ।
जेन एक्सहरूसम्मको बाल्यकाल खुला आकाश मुनि खेल्ने र निकै हिँडडुल गर्ने खालको थियो भने त्यसपछिका पिँढीको भौतिक क्रियाकलापमा निकै ठूलो पूर्णविराम लागेको छ। उहिलेका बच्चाहरू बाहिर खेलेर छिटो घर आएनन् भनेर बाबुआमाले गाली गर्नु पर्ने अवस्था थियो तर हिजोआजका बालबच्चालाई मोवाइल र ट्याब्लेट खोसेर केही बेर बाहिर खेल्न जाओ भन्नु पर्ने अवस्था आएको छ।
बच्चैदेखि घटिया खानेकुरा (जङ्क फुड) र अधिक चिनीजन्य वस्तुको सेवन चौबिसै घण्टा गर्ने बानी र शुन्य व्यायामको अवस्थाले उनीहरू पहिलेका बालबालिकाको अनुपातमा स्थुल (मोटा) हुँदै गएका छन्। फलस्वरुप सानैदेखि अधिकांश नयाँ पिँढी विभिन्न रोग लाग्न सक्ने सम्भावना बोकेर हिँडिरहेका छन्।
विश्वभर नै अधिक बोसोजन्य र गुलिया वस्तु तथा माछामासुको खपत बढेको र फलपूmल तथा हरिया तरकारी खाने चलन कम हुँदै गएकोले अधिकांश मानवजातीको शरीरमा पोषक तत्वको कमी हुनुको साथै विषादी धेरै जम्मा हुन थालेको कुरा खुराक तथा पोषक तत्व बारेका वेत्ता यानी डाइटिसियनहरू बताउँछन्।
मानिसमा मात्र नभइ, मानिसले खपत गर्ने दूध, दही, मासु, तरकारी जस्ता यावत खाद्यवस्तुका श्रोत नै प्रदूषित हुने गरेका छन्। अर्को शब्दमा कुनै पनि खाद्य वस्तु पहिलेको अनुपातमा स्वच्छ र स्वास्थ्यको निम्ति उचित छैनन्। त्यस माथि घर बाहिरका खानपिन र त्यसमा पनि जङ्कफुड) मा बढी झुम्मिने प्रवृत्तिले गर्दा मानव स्वास्थ्यमा निकै नराम्रो असर पर्न थालेको छ।
नेपालमा मात्र नभई विश्वभर नै अत्याधुनिक स्वास्थ्य प्रणालीको ठूलो विकास भएको र नेपालमा पनि सरकारी तथा निजी ठूला ठूला अस्पताल तथा स्वास्थ्य केन्द्रहरू जताततै खुलेका छन् भने ती सबैमा विरामीको ठूलो चाप छ।
विशेष गरी उच्च रक्तचाप र मधुमेहका कारण मुटु, मिर्गौला, कलेजो तथा पेटको रोग अति सामान्य हुँदै गएका छन्। नेपाल लगायत विश्वभर नै क्यान्सर जस्तो ज्यान नै लिने रोग प्रकोप सरी नै बढ्दै गएको छ।
विषाक्त खानपान र बिग्रँदो वातावरणको कारण नै यो सब भएको हो भने मानिस अति अल्छि हुँदै गएर शुन्य व्यायामको स्थितिमा पुगेकाले पनि यस्तो स्थिति बन्न थालेको हो। यी वाहेक वर्षेनी विभिन्न प्रकारका महामारीका कारण पनि धेरै मानिसहरू प्रभावित हुने गरेका छन्।
केही समय अघिसम्म पनि ढिँडो, गुन्द्रुक, दूध, दही, मही, हरिया सागपात र सिस्नु, मार्सी र अन्य प्रकारका मोटा चामल, कोदो, फापर, मकैका पिठो, गाउँले सिमी तथा दालहरू, विभिन्न प्रकारका जडिबुटी, फलफूल, स्थानीय कुखुरा, हाँस तथा बोका, खसी र राँगा आदिका गाउँघरका परिकार र खाजाहरूलाई गरीवले खाने वस्तु भनेर हेला गर्ने शहरीया भनाउँदाहरूको आजको मूल रोजाइ नै यस्तै स्वच्छ खाना भएका छन्। यस्ता खानाको निम्ति हिजोआजका सम्भ्रान्त र शहरीयाहरू जति रकम तिर्न पनि तयार हुन्छन्।
विभिन्न प्रकारका स्वास्थ्यका समस्याहरू तथा मानसिक रोग बढ्दै गएकोले नै हिजोआज नेपाल लगायत जताततै स्वस्थकर खानपिन र व्यायाम तथा ध्यान र योगको अभ्यास बढ्दै गएको छ।
नेपालका शहरी क्षेत्रमा पनि योग तथा व्यायामका केन्द्रहरू स्थापना भइरहेका छन् भने व्यायामका उपकरण र व्यायामशालाको व्यवसायमा ठूलो वृद्धि भएको छ। तर पनि मानिसहरूमा दृढताको कमी र जिब्रोको स्वादलाई काबुमा राख्न नसक्ने अति नराम्रो बानीले गर्दा रोगव्याधीको सिकार हुने क्रम झनै बढ्दै गएको छ। औषधीको सेवनले सधैँ स्वस्थ रहन सकिन्छ भन्ने गलत सोचका कारण धेरै मानिसमा तिनै औषधीको दुरुपयोगले गर्दा घातक परिणामहरू निस्कन थालेका छन्।
एकातिर नेपालमा चिकित्सक र नर्सहरूको राम्रो पढाई हुने भएकोले वर्षेनी सयौँ स्वास्थ्यकर्मी उत्पादन हुन्छन् तर नेपालमा राम्रो आम्दानी नहुने भन्दै अधिकांश नयाँ स्वास्थ्यकर्मी विदेशतिर पलायन हुने गरेका छन्।
नेपाल एक सून्दर मुलुक भएर पनि यहाँ कहिल्यै जनमुखी, इमान्दार र दत्तचित्त सरकार नबनेकोले नेपालमा बेरोजगारी, गरिवी र कुपोषण सँग सम्बन्धीत र मानसिक रोग झन् झन् बढ्दो छ।
विश्वमा रोगसँग लड्न सकिने विभिन्न अचुक औषधीहरूको विकास भइसकेको र स्वास्थ्य संस्थाहरू पनि छ्याप्छ्याप्ती खुलेका र स्वास्थ्य प्रणालीले निकै ठूलो फड्को मारिसकेको छ।
यसैको फलस्वरूप पहिलेको दाँजोमा बालबालिका, युवा र वृद्धवृद्धा वा समग्रमा सबै मानिसको औषत आयु ७० वर्ष भन्दा बढी हुन थाले पनि अकालमा कलिलै उमेरमा ज्यान गुमाउनेहरूको संख्या पनि त्यही अनुपातमा बढ्दै गएको छ।
धन, सम्पत्ति, मान-सम्मान तथा ओज र अन्य खुशी प्रदान गर्ने वस्तु भन्दा स्वास्थ्य अझ बढी महत्वपूर्ण वस्तु हो। स्वस्थ दिमाग र शरीर भएको मानिस मात्र सृजनशील हुन सक्छ र उ मात्र सुखी तथा खुशी रहन सक्छ।
त्यसैले आफ्नो भौतिक र मानसिक स्वास्थ्यको विशेष ख्याल राखेर आफु, आफ्नो घर, परिवार, समाज, राष्ट्र र पुरै विश्वलाई समृद्ध बनाउने तर्पm मानवजातीले लागिरहनु पर्दछ। यो सबको शुरुवात आपैmबाट गर्नु पर्दछ। आजैबाट हामीले स्वस्थ रहने प्रण गर्दै अनुशाषित जीवनशैली अपनाउन शुरु गरौँ !!!
-लेखक विकास अर्थशास्त्री एवम् एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment