राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको टोली जेनेभा प्रस्थान
काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५१औं महासभामा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन्।
राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सम्मिलित संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल शुक्रबार बिहान जेनेभा प्रस्थान गरेका हुन्।
यही कात्तिक २ गतेदेखि ६ गते (अक्टोवर १९–२३) सम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्षले दाहालले ‘सङ्कटका समयमा मानवतावादी मान्यता र मानवतावादी कार्यलाई समर्थन’ विषयमा मन्तव्य प्रस्तुत गर्नुका साथै द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
आइपीयु स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन्। शाहले महिला सांसदहरूको मञ्चको बैठकमा पनि सहभागी हुनेछन्।
प्रतिनिधिमण्डल भ्रमण कार्यक्रम सम्पन्न गरी कात्तिक ९ गते आइतबार साँझ काठमाडौं फर्किने कार्यक्रम छ।







डिसी नेपाल






Facebook Comment