जेन–जीको नाममा हुनसक्ने आक्रमणको प्रतिकार गर्न वाईसीएल बनायो १० औं हजारको फोर्स
काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष पुष्प ओलीले जेन-जी आन्दोलनको नाममा फेरि पनि हुनसक्ने आक्रमणको प्रतिकार गर्न आफूहरुले काठमाडौं उपत्यकामा १०औं हजारको फोर्स बनाएको बताएका छन्।
शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले असली जेन-जीहरुको मागमा आफूहरु एकमत रहेको बताए। आफूहरु सो आन्दोलनमा स्वयमसेवकीय भूमिकामा संलग्न हुँदाहुँदै पनि घुसपैठेहरुले माओवादीका नेताहरुमाथि आक्रमण गर्ने, शक्तिको दुरुपयोग गरेर दमन गर्ने प्रयास भएको बताए। फेरि पनि यस्ता प्रकारको गोप्य षड्यन्त्रहरु रचिएको हुन सक्छन् भनेर आफूहरुले उपत्यकामा १०औं हजारको युवा फोर्स रेडी गरेर राखेको बताए।
‘फेरि पनि स्वयंसेवकीय भूमिकामा हामी संलग्न हुँदाहुँदै पनि फेरि केही घुसपैठ्याहरुले आक्रमण गर्ने, अहिले पनि प्रहरी प्रशासन र शक्तिको दुरुपयोग गरेर दमनको जुन प्रयास गरिएको छ। यसप्रति हामी घोर भर्त्सना र निन्दा गर्दछौं। फेरि पनि त्यस्ता कुनाकन्दरामा गोप्य षड्यन्त्रहरु रचिन्छन् भने हामी त्यसको भण्डाफोर गर्न, प्रतिरोध गर्न र प्रतिकार गर्न पनि तयार छौं। उपत्यकामा हामीले १०औं हजारको फोर्स हामीले रेडी गरेका छौं। हामी तिनीहरुलाई यो मञ्चबाट पनि खबरदारी गर्न चाहन्छौं- तिमीहरुका दिवास्वप्न जुन हामीमाथि आक्रमण गर्यौ, फेरि पनि गर्छौ भने हामी युवा विद्यार्थीहरु मिलेर त्यसको प्रतिरोध गर्छौं,’ उनले भने।
वाईसीएल अध्यक्ष ओलीले गत भदौ २३ गते ड्रेसमै रहेका विद्यार्थीमाथि हानिएको गोली र गरिएको दमनमाथि छानविन गरिनुपर्ने बताए। उनले भदौ २४ गते १२ बजेदेखि जेन–जी आन्दोलन हाइज्याक भएको र त्यो हाइज्याक गर्ने र विध्वंशमा संलग्नहरुमाथि पनि कारबाही गरिनुपर्ने बताए। ‘भदौ २३ गते ड्रेसमा रहेका विद्यार्थीहरुमाथि गोली हानियो, जन दमन गरियो। २३ गतेको जनदमनको निष्पक्ष छानविन गरियोस्। २४ गते १२ बजेदेखि जेन–जी आन्दोलन हाइज्याक भएको छ। यो हाइज्याक गर्नेहरु र विध्वंशमा संलग्नहरुलाई पनि कारबाही गर्नुपर्छ,’ उनले भने।
साथै, उनले माओवादीका अग्रज नेता कृष्णबहादुर महरामाथि धरपकड गरिएको र झुठा मुद्दा लगाएर फसाइएको बताए। उनले महरालाई तत्काल रिहा नगरिएको खण्डमा सडकबाट जवाफ दिने पनि उनले चेतावनी दिए। ‘हाम्रो अग्रज नेता कृष्णबहादुर महरामाथि धरपकड गरिएको छ। यसको पनि हामी खेद र भर्त्सना गर्न चाहन्छौं। उहाँमाथि प्रचण्ड नेतृत्वको सरकारले नै छानविन गरिसकेको हो। अहिले के त्यस्तो प्रमाण पाउनुभयो ? उहाँको लामो विरासत छ, जनताको सेवा गरेको। जनताको मन जितेर आएको उहाँ नेतृत्व हो। उहाँमाथि झुठा मुद्दा लगाइयो भने यसको पनि हामीले सडकबाट जवाफ दिन नपरोस्। अहिले कानूनी राज्य छ, के आधारमा समातियो ?’ प्रश्न गर्दैै उनले भने।







डिसी नेपाल







Facebook Comment