बर्दियामा मतदाता नामावलीमा नाम दर्ता सुस्त गतिमा

डिसी नेपाल
३ कार्तिक २०८२ १४:५३
12
Shares

बर्दिया । बर्दियामा असोज मसान्तसम्म चार सय चार जनाले मात्र मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। गत असोज १० गतेबाट सुरुवात भएपनि बर्दियामा सुस्त गति मतदाता नामावलीमा नाम दर्ता भएको छ।

निर्वाचन कार्यालय बर्दियाका अनुसार असोज मसान्त सम्ममा पुरुष दुई सय ५५ जना र महिला एक सय ४९ जना गरि जम्मा चार सय चार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। पछिल्लो समयमा दैनिक तीस देखि पचास जनाले नामावली दर्ता गराउने गरेको निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले जानकारी दिएका छन्।

उनले सुरुको तुलनामा नाम दर्ता गराउनेको सङ्ख्या विस्तारै बढ्दै गएको बताए।

बर्दिया जिल्लामा असोज १० गते भन्दा अगाडि बर्दिया जिल्लामा पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार दुई सय ३३ र अन्य छ जना गरी तीन लाख १७ हजार तीन सय ३४ जना मतदाता थिए।

तिहार र धान काट्ने भएको हुनाले पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून भएको हुन सक्ने निर्वाचन कार्यालयको अनुमान छ। हरेक स्थानीय तहबाट तिहारपछि मतदाता नामावलीमा नाम दर्ता गर्न आउने खबर आएको सूचना अधिकारी ढकालले बताए।

उनले हरेक पालिकाले केही दिनको लागि मतदाता नामावली दर्ताका लागि पालिका आउन आग्रह गरेको बताए।

बर्दिया जिल्लाका गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, बाँसगढी नगरपालिका लगाएतका स्थानीय तह सदरमुकामदेखि निक्कै टाढा भएको हुनाले सोही स्थानमा गएर मतदाता नामावली दर्ता गराउनुपर्ने स्थानीयको माग छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *