प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

डिसी नेपाल
३ कार्तिक २०८२ १५:०९
176
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन्। प्रचण्ड र पार्टीविरुद्ध प्रहार हुन थालेपछि आफूले पदबाट राजीनामा दिएको उनले बताएकी छन्।

नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनका लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु,’ उनले लेखेकी छन्।

आफूले प्रचण्डको सहयोगीका रूपमा राम्रो गर्ने कोसिस गरिरहे पनि विवादमा परेको भन्दै उनले दु:ख व्यक्त गरेकी छन्। जति राम्रो गर्छु भन्दा पनि जति नै विवादरहित भएर काम गर्छु भन्दा पनि विवादमा त परिहालिने रहेछ। म, मेरा दिदीहरू र भाइलाई महान् जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहियो, उनले भनेकी छन्।

उनले भ्रामक सूचना दिनेहरूले आफ्नोबारे निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि दुरुपयोग गरेको बताएकी छन्।

कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी। एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन। साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भइसक्यो। अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ, उनले लेखेकी छन्।

पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवनरूपमा पार्टीमा भने क्रियाशील रहने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.